काठमाडौं– नेपाल टेलिकमले शुक्रबारदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत जाने मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालनमा ल्याएको छ। डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी ३ प्रकारको रहेको टेलिकमले जनाएको छ।
दैनिक प्याकअन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी १ सय २५ रुपैयाँमा १०० एमबीको डाटा रोमिङ प्याक उपलब्ध गराइएको छ। यसैगरी साप्ताहिक प्याकमा ७ दिनसम्म प्रयोग गर्न सकिने गरी ५ सय ५५ रुपैयाँमा ५०० एमबी डाटा तथा मासिक प्याकअन्तर्गत २८ दिन प्रयोगमा ल्याउन सकिने गरी १ हजार १ सय २५ रुपैयाँमा १ जीबी डाटा उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
डाटा रोमिङ प्याक सुविधा उपभोग गर्नका लागि ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्दछ। प्रिपेड ग्राहकहरुले आफ्नो मोबाइलबाट *१४१५# डायल गरी वा नेपाल टेलिकमको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सक्ने जनाएको छ।
पोष्टपेड मोबाइल ग्राहकहरुले यो सेवा हालका लागि ग्राहक सेवा केन्द्रबाट सुचारु गर्नु पर्नेछ। खरिद गरेकै समयदेखि उपरोक्त प्याकको मान्यता अवधि गणना हुने भएकाले ग्राहकहरुको सहजताका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएर भारत पुगी त्यहाँका स्थानीय नेटवर्कमा रजिष्टर्ड भइसकेपछि मात्र रोजाइका प्याकहरु नेपाल टेलिकमको एपमार्फत अथवा युएसएसडी कोड *१४१५# डायल गरी खरिद गरेमा प्याकको पूर्ण सदुपयोग गर्न सकिने टेलिकमले जनाएको छ।
यी प्याकहरु टेलिकमको मोबाइल एपमार्फत तथा *१४१५# डायल गरी अन्तर्राष्ट्रिय सर्भिस मेनुभित्र गई प्राप्त निर्देशन बमोजिम खरिद गरी प्रयोगमा ल्याउन सकिन्छ। साथै एसएमएस मार्फत पनि प्याकहरु खरिद गर्न सकिन्छ।
दैनिक, साप्ताहिक र मासिक प्याकहरु खरिद गर्न क्रमशः आइएनडीआरएम १ डी, आइएनडीआरएम ७ डी र आइएनडीआरएम २८ डी मा एसएमएस पठाउनु पर्ने टेलिकमले विज्ञप्तीमार्फत जनाएको छ।
कम्पनीले गत भदौ २० देखि नै भारतमा डाटा रोमिङ सेवा उपलब्ध गराइरहेको छ र पर्वहरुको अवसरमा ग्राहकहरुलाई विशेष सुविधा प्रदान गर्न झण्डै स्थानीय दरमै डाटा रोमिङ प्याक ल्याइएको हो।
हाल सञ्चालनमा ल्याइएको डाटा रोमिङ प्याक कम्पनीका पोस्टपेड र प्रिपेड दुवै मोबाइलमा प्रयोग गर्न सकिने पनि टेलिकमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।