काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले स्रोत, प्रविधि र सोच तीनवटै पक्षको हस्तान्तरण गर्दै मुलुकको आर्थिक विकास गर्दै अघि बढ्नुपर्ने बताएका छन्। नेपालमा अहिले काम गर्न सक्ने जनसंख्याको संख्या उच्च रहेको भन्दै यसबाट अधिकतम लाभ लिएर अघि बढ्नुपर्ने बताए।
नयाँ प्रविधिको खोजी गर्दै विकासमा त्यसलाई सहायक बनाउँदै अघि बढ्नुपर्ने खतिवडाले बताए। गैर आवासीय नेपाली संघको कार्यक्रममा खतिवडाले उपलब्ध भएका सबै ऊर्जाको समिश्रणबाट अघि बढ्न सक्नुपर्ने पनि उल्लेख गरे।
'हामी अहिले छिमेकी देशबाट ऊर्जा आपूर्ति गरेर संकट समाधान गरेका छौँ, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएपछि त्यो समस्या पनि हट्छ,' उनले भने, 'हामीले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने भनेका छौँ, त्यसमा २० खर्ब रुपैयाँ लगानी चाहिन्छ, बैंकले ७० प्रतिशत ऋण दियो भने पनि बाँकी ३० प्रतिशत स्वपुँजी अर्थात वर्षको ६०/७० अर्ब रुपैयाँ तपाईंहरुबाट अपेक्षा गरेका छौँ।'
नेपालमा फलाम खानी स्थापना गर्ने गरी अघि बढेको भन्दै त्यसमा निजी क्षेत्रलाई त्यसमा आव्हान गरिएको पनि उनले बताए। 'पेट्रोलियम पदार्थदेखि बहुमूल्य खानीसम्ममा तपाईंहरुको लगानी हामीले अपेक्षा गरेका छौँ,' अर्थमन्त्री खतिवडाले भने, 'निजी क्षेत्रले गर्ने लगानीलाई प्रोत्साहन गरेर अघि बढ्नुपर्ने पक्षमा हामी छौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।