काठमाडौं- नेपालबाट सुन्तलाजातका फलफूल निर्यात गर्न ६ वर्षअघि चीनसँग भएको समझदारी कार्यान्वयन हुने भएको छ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा आइतबार भएका विभिन्न २० वटा सहमतिमध्ये नेपालबाट सुन्तलाजात फलफूल (सिट्रस फ्रुट) को निर्यातको विषय पनि समेटिएको छ।
चीनको स्वशासित क्षेत्र तिब्बतको बजारमा नेपालबाट सुन्तला, जुनार, कागती, भोगटे, अमिलोजस्ता सुन्तलाजातका भनिने फलफूल निर्यातका लागि सहमति भएको हो।
नेपाल र चीनबीच यस्तो सम्झौता पहिले नै भए पनि कार्यान्वनमा भने आइसकेको थिएन।
‘चीनले किरा फट्यांग्राको संक्रमणरहित बगैंचाको फलफूल मात्र आयात गर्ने भन्दै आएको थियो। अहिले चीनले किराफट्यांग्रारहित बगैचा नभई किराफट्यांग्रारहित फलफूल नेपालबाट आयात गर्न दिने भएपछि यस्तो सम्झौता भएको हो,’ कृषि विकास मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीले नेपाल लाइभसँग भने।
नेपालबाट सुन्तलाजन्य फलफूल निर्यातका लागि लामो समयअघि नै दुई देशबीच सम्झौता भइसकेको भएपनि चीनको क्वारेन्टाईन नीतिका कारण यहाँ उत्पादित वस्तु चीन निर्यात हुन सकेको थिएन।
सहसचिव सुवेदीका अनुसार नेपालको सुन्तलाजन्य वस्तुको उत्पादन र उत्पादकत्व आन्तरिक बजारको माग पुरा गरेर विदेशमा निर्यात गर्ने भइसकेको छ।
यसअघि नेपालले भारत, बंगलादेशलगायत मुलुकमा सुन्तला निर्यात गर्ने गरेको सुवेदीको भनाई छ।
आईतबार नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा युवकध्वज जिसी र चीनका तर्फबाट चिनियाँ राजदूत होउ यान्त्रीबिच उक्त समझदारीपत्र साटासाट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।