काठमाडौं- नेपाल विद्युत प्राधिकरणले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रणमलाई लक्षित गर्दै काठमाडौंका केही क्षेत्रमा सेवा मर्मत तथा सुधारको काम सम्पन्न गरेको छ। प्राधिकरणको बानेश्वर, रत्नपार्क र कुलेश्वर वितरण केन्द्रहरुले सडक बत्ती व्यवस्थापन, तार व्यवस्थापन र विद्युत आपूर्ति चुस्त र विश्वसनीय बनाउन मर्तत तथा सुधारका काम गरेका हुन्।
प्राधिकरणको बानेश्वर वितरण केन्द्र प्रमुख बाबुराम सुवेदीले सडक बत्ती मर्मत, इन्टरनेट सेवा प्रदायकहरुको झोलिएको तार व्यवस्थापन र स्तरीय विद्युत आपूर्तिको व्यवस्थापन गर्न आवश्यक काम गरिएको जानकारी दिए।
'विद्युत प्राधिकरणका कार्यकारी निर्देशक ज्यूको निर्देशनअनुसार मित्र राष्ट्र चीनका सम्माननीय राष्ट्रपतिको भ्रमणको अवसरमा गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था मिलाउन तथा सहरलाई सुन्दर बनाउन आवश्यक तयारी गरेका छौँ,' उनले भने।
उनका अनुसार प्राधिरकणले इन्टरनेट सेवा प्रदायकहरुलाई क्रेनलगायतका उपकरणको व्यवस्थापन गरिदिएर झोलिएका तार व्यवस्थापनमा सहयोग गरेको छ।
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेडिकेटेड फिडरमार्फत विद्युत आपूर्तिको व्यवस्थापन गरिएको पनि उनले जानकारी दिए। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलसँगै भट्टेडाँडा र फुलचोकीमा रहेका आफ्ना राडार तथा रिपिटर स्टेसनमा गुणस्तरीय विद्युत आपूर्तिको लागि आग्रह गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।