काठमाडौं– धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ संशोधनका क्रममा रहेको छ। धितोपत्र बोर्डले अन्तिम स्वीकृतीका लागि उक्त नियमावलीको मस्यौदा अर्थ मन्त्रालय पठाएको छ।
प्रस्तावित संशोधनका मूख्य विषयहरुमा धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर)ले अन्तिम लेखा परीक्षण भएको नेटवर्थको तीन गुणासम्म प्रत्याभूति (अण्डरराइटिङ्ग) गर्न सक्ने र लगानी व्यवस्थापकले अन्तिम लेखापरीक्षण भएको नेटवर्थको १५ गुणासम्म लगानी व्यवस्थापन गर्न सक्ने व्यवस्था समावेश गरिएको छ।
नयाँ व्यवस्थाअनुसार मर्चेण्ट बैंकरले संस्थागत जोखिम व्यवस्थापन गर्न तथा संस्थाको वित्तीय सबलताको लागि जगेडा कोष खडा गरी मुनाफाको निश्चित प्रतिशत रकम राख्नु पर्नेछ।
त्यस्तै, मर्चेन्ट बैंकको सञ्चालक तथा कार्यकारी प्रमुख नियुक्ति गर्दा बोर्ड वा धितोपत्र बजार, धितोपत्र दलाल, केन्द्रीय निक्षेप सेवा वा अन्य मर्चेन्ट बैंकर र क्रेडिट रेटिङ संस्थामा कुनै लाभको पदमा रहेको व्यक्ति अयोग्य हुनेछ।
मर्चेण्ट बैंकले बोर्डलाई बुझाउनुपर्ने सेवा शुल्क ५ प्रतिशतबाट घटाइ ३ प्रतिशत गरिएको र सञ्चालक वा कार्यकारी प्रमुखको अयोग्यतामा थप व्यवस्था गरी स्वार्थ नबाझिने लगायतका व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।