डोटी- तोकिएको समयमा पुल नबन्दा शिखर नगरपालिका र आदर्श गाउँपालिकाका बासिन्दाले निकै सास्ती खेप्नुपरेको छ। पुल नबन्दा त्यहाँका बासिन्दालाई सामान्य कामका लागि पनि घण्टौं लामो यात्रा गर्नुपर्छ।
निर्माण सुरु गरिएको वर्षौँ बितिसक्दा पनि सातनाली सडकको मोटर चल्ने पक्की पुल अझै बन्न सकेको छैन। सातनाली–मेल्लेक–बझाङ्ग सडकलाई केआइसिंह राजमार्गसँग जोड्न शिखरनगरपालिका १० बानीडुग्रीसैनको सेती नदीमाथि पुल निर्माण गर्न २०७१ असार २० गते सम्झौता भएको थियो।
यो सम्झौताअनुसार २०७४ असार २० गतेभित्र पुलनिर्माण भइसक्नुपर्ने भए पनि अहिलेसम्म १० प्रतिशत पनि काम भएको छैन। सुस्त गतिमा हुँदै आएको निर्माण अहिले पूर्णरुपमा रोकिएको छ।
मूल्य अभिवृद्धि करसहित २६ करोड २० लाखको लागतमा निर्माण हुने करीब ४०० मिटर लामो उक्त आरसिसी पुलका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँगसम्झौता भएको हो।
पुल निर्माण हुने समयावधि समाप्त भएर १५ महिना बितिसक्दा पनि पुलका दायाँबायाँ पिल्लर उठाइएको छैन। उक्त पुल समयमै नबन्दा शिखर नगरपालिका वडा नं ११ सडक सञ्जालमा जोडिन सकेको छैन।
नदीमा पुल नभएकै कारण २०४९ सालदेखि निर्माण सुरु भएको सातनाली–मेल्लेक–बझाङ्ग सडक अलपत्र परेको छ। पुल नभएरै उक्त सडकमा यातायातका साधन सञ्चालन हुन नसकेको स्थानीयवासी रामबहादुर धामीले बताए। उनले भने, 'पुल नै बनेको छैन कहाँबाट लगेर गाडी चलाउनू? काटेको सडकमा गाडी नचल्दा दिनहुँ बिग्रिन र भत्किन थालेको छ।'
सम्बन्धित डिभिजन सडक कार्यालय कुल्पोतेका इञ्जिनीयर वसन्तकुमार गायीले पुलको जगमै समस्या भएको जानकारी दिए। उनका अनुसार पिल्लरको जगमा चट्टान भेटिएपछि डिएमसी मेशिनले काम नगरेको र बोर पाइलिङ्ग मेसिन ल्याउनुपर्ने भएका कारण ढिलाइ भएको हो।
डिभिजन सडक कार्यालय डोटीले तत्काल काम सुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरिसकेको इञ्जिनियर गायीले बताए। उनले भने, 'तत्काल काम सुरु गर्न चेतावनीसहित हामीले निर्माता कम्पनीलाई पत्राचार गरिसकेका छौं। तोकिएको अवधिमा काम सुरु भएन भने आर्थिक कारबाही हुन्छ।'
लामो समयदेखि रोकिएको काम आफू साइट इञ्चार्ज भएपछि सुरु गराएपनि निर्माता कम्पनीले लापरवाही गरिरहेकाले काम ढिलो भएको इञ्जिनीयर गायीको भनाइ छ। निर्माता कम्पनी पुष्प राजेन्द्र जेभीका इञ्जिनीयर राजेन्द्र साउदले डिएमसी मेशिन आइसकेकाले अब छिट्टै काम सुरु गरिने बताए।
उनले भने, 'फाउण्डेशनको काममा मात्रै समस्या देखिएको हो । फाउण्डेशनको काम सकियो भने अरु काम सजिलैसँग अगाडी बढ्छ।'
सुरुमा पुलको अलाइनमेण्ट नमिलेकाले ढिलो भयो भन्दै आएको निर्माण व्यवसायीले पुल निर्माण कार्यमा ढिलो हुँदै गर्दा नयाँनयाँ बहाना खोज्न थालेको स्थानीयबासी प्रेमबहादुर बलायरको आरोप छ। (फाइल फोटो)
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।