काठमाडौं- सरकारले विभिन्न जिल्लामा १ सय ४३ वटा झोलुंगे पुल बनाउन परामर्शदाता नियुक्तिका लागि प्रस्ताव माग गरेको छ। मंगलबार एक सूचना प्रकाशित गरी परामर्शदाता माग गरिएको हो।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभाग मातहतको झोलुंगे पुल महाशाखाले विभिन्न जिल्लामा पुल निर्माणको तयारी गरेको हो। सरकारले देशभरबाट तुइन विस्थापित गर्ने नीति लिएको छ। केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि नै दुई वर्षमा तुइनलाई झोलुंगे पुलले विस्थापित गर्ने निर्णय गरेका थिए।
झोलुंगे पुल महाशाखाले प्रकाशित गरेको सूचनामा ताप्लेजुङ, पाँचथरमा ११ वटा, इलाम, झापामा ११ वटा, झापा, मोरङ, धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभामा १० वटा पुल बनाउन परामर्शदाता माग गरिएको छ। त्यस्तै, सुनसरी, मोरङ र रौतहटमा ९ वटा, पर्सा, सिराहा, उदयपुर र खोटाङमा ९ वटा पुल निर्माण गरिने भएको छ।
सिन्धुली, दोलखा, सिन्धुपाल्चोकमा ११ वटा पुल बनाइनेछ भने रामेछाप, नुवाकोट, मकवानपुर, गोर्खा र तनहुँमा पनि ११ वटै झोलुंगे पुल बन्ने भएको छ। त्यसैगरी, बागलुङमा ८ वटा, अर्घाखाँची, पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तुमा ७ वटा पुल बन्दैछन् भने रोल्पा, प्युठान, दाङ र रुकुममा ९ वटा झोलुंगे पुल बन्ने भएका छन्।
झोलुंगे पुल महाशाखाले दैलेख, कालिकोट, जुम्ला, हुम्ला र जाजरकोटमा ९ वटा र डोल्पामा समेत ९ पुलका लागि पनि परामर्शदाता माग गरेको छ। यसैगरी, बाँके, बर्दिया, कैलाली र डोटीमा ९ वटा छन् भने बाजुरा, अछाम, बैतडी र दार्चुलामा १० वटा पुल बन्दैछन्। मुस्ताङमा ४ वटा र म्याग्दी तथा पर्वतमा ६ वटा झोलुंगे पुल निर्माणका लागि परामर्शदाता माग गरिएको छ।
इच्छुक परामर्शदाता कम्पनीहरुले कात्तिक १४ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।