काठमाडौं- भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि एकै दिनमा नेपाली बजारमा प्याज प्रतिकेजी ३० रुपैयाँले बढेको छ। आइतबार मात्रै भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि सोमबार थोक मूल्यमै प्याजको भाउ ३० रुपैयाँले बढेको हो।
प्रतिबन्धको असर सिधै नेपाली बजारमा देखिएको हो।
आइतबार प्याजको मूल्य थोक बजारमा प्रतिकेजी अधिकतम ९० रुपैयाँ थियो। तर, सोमबार थोक मुल्य नै प्रतिकेजी १ सय २० रुपैयाँ पुगेको छ। काठमाडौंको खुद्रा बजारमा भने प्याजको मूल्य कम्तीमा १ सय ५० रुपैयाँ पुगको छ।
नेपालको सहरी क्षेत्रको शतप्रतिशत माग धान्दै आएको भारतीय प्याज नेपाल प्रवेशमा रोक लगाइएपछि प्याजको अभाव देखिएको हो।
भारतले आइतबारबाट कुनै पनि मुलुकमा प्याज निर्यात नगर्ने जनाएको छ। भारतले प्याजको निर्यात बन्द गरेपछि नेपालको बजारमा त्यसको असर पर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताए।
‘प्याज नेपाली बजारमा शतप्रतिशत भारतीय बजारबाटै आउने गरेको छ। प्याज कोल्ड स्टोरमा राख्ने चलन छैन, मागअनुसार ल्याएर बिक्रीवितरण गर्ने हो। त्यसकारण निर्यातमा बन्देज लगाएपछि त्यसको प्रभाव त अवश्य देखिन्छ,’ पौडेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।