काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले एयरबस ए-३१९ विमान थप्ने भएको छ।
हिमालय एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले अक्टोबर भित्रै ए-३१९ विमान नेपाल आउने जानकारी दिए।
हिमालयसँग अहिले एयरबस कम्पनीको ३ वटा ए-३२० विमान छ। चीनका विभिन्न ६ गन्तव्यमा उडान विस्तार गर्ने लक्ष्यसहित विमान थप्न लागिएको श्रेष्ठले बताए। हिमालयले अक्टोबर २७ बाटै बेइजिङको डासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने समेत उनको भनाइ छ।
हिमालयले आइतबार पत्रकार सम्मेलन गर्दै चिनियाँ लगानीकर्ता फेरिएको समेत जनाएको छ। तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एन्ड एन्भेष्टमेन्ट कम्पनीले खरिद गरेको श्रेष्ठले जानकारी दिए।
तर, नेपाली लगानीकर्ता भने नफेरिएको उनको भनाइ छ।
नयाँ आउने कम्पनी पूर्णरुपमा चिनियाँ सरकारको लगानी भएको कम्पनी हो।
पछिल्लो समय हिमालय एयरलाइन्स आर्थिक संकटमा फसेको थियो। हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि बुझाउनुपर्ने विमानस्थल सेवा शूल्कवापतको झन्डै १२ करोड रुपैयाँ पनि बुझाउन बाँकी छ।
साथै हिमालयले सेफ्टीलाई पहिलो प्राथमिकतामा राख्दै लोगो पनि परिर्वतन गरेको छ।
एउटा विमान र एकमात्रै गन्तव्यबाट उडान सुरु गरेको हिमालयले अहिले ५ वटा गन्तव्यमा उडान गरिरेको छ। अहिलेसम्म हिमालयले ६ लाख ५७ हजार ४ सय ८५ यात्रुलाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएको समेत श्रेष्ठले जानकारी दिए। यसैगरी, हिमालयले अहिलेसम्म २ हजार ५ सय ३० वटा फ्लाइट गरेको उनको भनाइ छ।
हिमालयले मेलेसियाको रोजगागी बन्द भएसँगै उडान बन्द गरेको मलेसियाको उडान पनि अक्टोबर २७ बाटै गर्ने भएको छ।
यही वर्ष विमान थप गरी चीनको बेइजिङ, नाङचाङ, चोङकिङ, चाङ्सा, गुइयाङलगायतका सहरमा पनि उडान विस्तार गर्ने लक्ष्य लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।