काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले साउन २ गतेको भाषणमा साझा यातायातले असोजमै विद्युतीय बस किनेर सञ्चालन गर्ने बताएका थिए। तर, विद्युतीय बस आउन यो वर्ष पूरा लाग्ने साझा यातायातले जनाएको छ। बस किन्ने मोडालिटी नै टुंग्याउन बाँकी रहेकाले मन्त्रीले भनेजस्तो असोजमा विद्युतीय बस आउने सम्भावना नरहेको साझाको भनाइ छ।
सरकार आफैंले किनेर सञ्चालन गर्ने भनेको विद्युतीय बस साझा यातायातमार्फत सञ्चालन गर्ने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ अर्ब रुपैयाँ साझालाई उपलब्ध गराइएको थियो। सरकारले साझालाई असार २९ गते नै उक्त रकम उपलब्ध गराएको थियो।
साझा यातायातलाई रकम दिएकोबारे जानकारी दिन आयोजित सम्मेलनमा साझा सहकारीका अध्यक्ष कनकमणि दिक्षितलाई सँगै राखेर मन्त्री महासेठले पहिलो चरणमा उक्त रकमबाट २०/२५ वटा बस खरिद गरी असोजसम्ममा काठमाडौंमा गुडाइने बताएका थिए। तर, साझाले 'मन्त्रीले के आधारमा भनेका हुन् थाहा नभएको' बताएको छ।
साझा यातायातले विद्युतीय बस खरिदको प्रक्रिया अघि बढाएको साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधरले जानकारी दिए। ‘बसको स्पेसिफिकेसन लगायत प्राविधिक विषय टुंग्याएर बोर्ड बैठकमा पेस गर्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘त्यस्तै बस खरिदको मोडालिटीमा समेत छलफल भइरहेको छ। सरकारी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लाग्ने देखिन्छ।’
बसको स्पेसिफिकेसन र खरिद मोडालिटी टुंगिएपछि टेन्डर गरेर त्यसको समयसीमा सकिएपछि टेन्डर डकुमेन्ट हेरिने तुलाधरले बताए। टेन्डर पाउन योगसँग सम्झौता गरेपछि पनि बस बनाउन २/३ महिनाभन्दा बढी लाग्ने देखिन्छ। कुनै अवरोध नभई प्रक्रियामा आवश्यक सहभागिता भयो भने यो वर्षको अन्त्यसम्ममा साझाले ल्याउने विद्युतीय बस काठमाडौं आइपुग्ने तुलाधरको भनाइ छ।
पहिलो चरणमा साझाले करिब ५० वटा विद्युतीय बस खरिद गर्नसक्ने तुलाधनरले बताए। ‘अहिले नै संख्या टुंगिएको छैन,’ उनले भने, ‘हामीले पहिलो चरणमा ४०/५० वटा ल्याउनेगरी काम गरिरहेका छौं तर यो संख्या पनि साझा सहकारीको बोर्ड बैठकले टुंग्याउँछ।’
३ सय भनिएकोमा यस आवमा १ सय बस मात्र आउने
साझा सहकारीमा सरकारको ९९ प्रतिशत सेयर छ। सरकारले वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने नीतिअनुरुप आफैंले ३ सय विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने निर्णय गरेको थियो। तर, सरकारले बस किनेर चलाउने जिम्मासहित साझा सहकारीलाई असार २९ गते ३ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो।
सरकारले साझा सहकारीलाई आर्थिक वर्ष २०७६/०७७ भित्रमा ३ सयवटा विद्युतीय बस किन्ने गरी उक्त रकम उपलब्ध गराएको हो। तर, साझाले पहिलो चरणको बस खरिदमै चालू आर्थिक वर्ष बिताउने देखिन्छ।
सरकारले नै बसको स्पेसिफिकेसन तोकेर दिएको मन्त्री महासेठले साउन २ गते बताएका थिए। साझा भने स्पेसिफिकेसन तयार गर्न नै महिनौं अल्झिएको छ। (तस्बिर- विकिपेडिया)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।