काठमाडौं- नेपालका लागि रोमानियाका कन्सुलेट जनरल नारायण बजाजले नेपालले मनाउन लागेको भ्रमण वर्ष 'भिजिट नेपाल २०२०'लाई रोमानियामा प्रोत्साहन गर्न सहयोग गर्ने बताएका छन्। नेपाल र रोमानियाबीच दुईपक्षीय व्यापारिक अवसर विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम 'बाइल्याटर बिजनेस अपर्च्युनिटिज बिट्विन नेपाल एन्ड रोमानिया' कार्यक्रममा जनरल बजाजले यस्तो बताएका हुन्। राजधानीको ठमेलस्थित होटल मनाङमा आयोजना गरिएको कार्यक्रममा रोमानियाको आइएएसआई सहरका चेम्बर अफ कमर्सका प्रतिनिधिसमेत सहभागी थिए।
'गत मे महिनामा मैले कन्सुलेटको जिम्मेवारी सम्हालेलगत्तै दुईपक्षीय व्यापार प्रवर्द्धन गर्ने कार्यक्रम प्रोत्साहन गर्दै आएको छु। नेपालले मनाउन लागेको भिजिट नेपाल २०२० का लागि रोमानियामा प्रवर्द्धनात्मक कार्यक्रम गर्न आग्रह गर्दै आएको छु,' कन्सुलेट जनरल बजाजले भने, 'राजनीतिक रुपमा स्थायित्व प्राप्त गरेसँगै दुई तिहाईको बलियो सरकार नेपालमा भएकाले आर्थिक विकास गर्ने समय पनि यही हो।'
रोमानियाको आइएएसआई सहरका चेम्बर अफ कमर्सका प्रतिनिधि र नेपाल चेम्बर अफ कमर्सले दुईपक्षीय व्यापार विस्तार गर्न सकिने विविध विषयमा छलफल समेत गरेका थिए।
रोमानिया आइएएसआईका अध्यक्ष पाउल बटनारिउले आएएसआइ सहरको आर्थिक विवरण प्रस्तुत गर्दै नेपालमा लगानीका लागि थुप्रै अवसर रहेको बताएका थिए। रोमानियाले नेपालबाट दक्ष र अर्धदक्ष कामदार भित्र्याउने तयारी गरेको समेत उनले जानकारी गराएका थिए। विशेषगरी, आतिथ्यता व्यवस्थापन, निर्माण, सूचना प्रविधि, खाद्यान्न उत्पादन तथा सेवा क्षेत्रमा कामदार भित्र्याउन रोमानियाले चाहेको बताएका थिए। यसका साथै नेपाली विद्यार्थीलाई समेत भित्र्याउन चाहेको उनले संकेत गरेका थिए।
यसका साथै बटनारिउले रोमानियामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने नेपाली प्रतिनिधिलाई रोमानिया भ्रमणको निम्तो समेत दिएका थिए। कार्यक्रममा रोमानियाका उद्यमी तथा व्यापारीहरुले त्यहाँका उत्पादन सेवा, शिक्षा परामर्शदाता, मानव संसाधन परामर्शदाता, सूचना प्रविधि र ट्राभल तथा पर्यटन व्यवस्थापन लगायतका विषयमा प्रस्तुति दिएका थिए। कार्यक्रममा नेपाल पर्यटन बोर्डका सुनील शर्माले नेपाली पर्यटन क्षेत्रका बारेमा प्रस्तुति दिँदै नेपालको पर्यटन रोमानियामा प्रचार गर्न आग्रह गरेका थिए।
टेक्नोभेसन फ्युचर केयरका अध्यक्षसमेत रहेका प्रकाश घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा एनसिसीका उपाध्यक्ष नरेश श्रेष्ठ, पर्यटन बोर्डका सुनील शर्मा, मारिअस एलेक्जाको नेतृत्वमा रहेको रोमानियाका ५ जना प्रतिनिधिले व्यापारिक अवसरका बारेमा धारणा राखेका थिए। कार्यक्रममा स्वागत मन्तव्यसमेत राखेका घिमिरेले दुईपक्षीय व्यापार विस्तार मात्र नभई जनस्तरसम्म नै दुई देशको सम्बन्ध विकास होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका थिए।
सेप्टेम्बर २२ देखि नेपाल भ्रमणमा रहेको रोमानियाली व्यापारीको प्रतिनिधिको टोलीले काठमाडौं, भक्तपुर, गोर्खा, पोखरा, लुम्बिनी र चितवनलगायतका क्षेत्रमा पुगेर व्यापारिक अवसरको पहिचान गर्ने बताइएको छ। ११ जना प्रतिनिधिको सो टोली अक्टोबर १ मा स्वदेश फर्कनेछ।
कार्यक्रमअघि नै नेपालको टेक्नोभेसन फ्युचर र रोमानियाको आर्हिपेलागो इन्टर्यारक्टिभ एसएलआरबीच यसअघि नै दुईपक्षीय व्यापारिक सम्बन्ध विस्तार गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।