काठमाडौं- कानुनबमोजिम गाडी आयात नगरेको भन्दै ज्यागुअर ल्यान्ड रोभरका विद्युतीय कार भन्सारले रोकिदिएको छ। पर्सामा रहेको सुख्खा बन्दरगाह भन्सार कार्यालयले आधिकारिक बिक्रेता बिना आयात भएका गाडी अवैध भन्दै आयात प्रक्रिया नै रोकिदिएको हो।
भन्सार कार्यालयले आयातको प्रक्रिया रोकेर आयातकर्तासँग आधिरकारिक बिक्रेताको प्रमाणपत्र मागेको छ। 'कानुनबमोजिम बुझाउनुपर्ने कागजात हामीले मागेका छौँ,' स्रोतले भन्यो, 'ती कागजात प्राप्त नभएसम्म यी सवारीसाधन छुट्दैनन्।'
ज्यागुअरका गाडी आयात गर्ने किशोर गेयरले आफू नै आधिकारिक विक्रेता भन्दै सवारी साधन आयात गरेको थियो। तर आयातकर्ता आधिकारिक नभएको भेटिएपछि भन्सारले सावरी साधन आयातको प्रक्रिया स्थगित गर्दै किशोर गेयरसँग प्रमाण माग गरेको हो।
किशोर गेयरले आफू आधिकारिक विक्रेता भएको प्रमाण पेश गर्न नसकेमा गाडी भन्सारबाट छुट्ने छैन। 'आयातकर्ताले कानुनबमोजिमका कागजात प्रस्तुत गर्न नसके अन्तिममा गाडी जफत हुन्छ,' स्रोतले नेपाल लाइभसँग भन्यो।
ज्यागुअर ल्यान्ड रोभरका अनुसार नेपालमा २०१६ अगस्ट (२०७३ भदौ १५) पछि कम्पनीको आधिकारिक बिक्रेता छैन। त्यसअघि दिइएको आधिकारिक बिक्रेताको अवधि सकिएको र नयाँ नियुक्त नभएको कम्पनीले जनाएको थियो।
सरकारले २०६३ देखि आधिकारिक बिक्रेता बिना नेपालमा सवारी आयात गर्न रोक लगाएको थियो। त्यसयता व्यक्तिगत रुपमा नेपाल ल्याइएका गाडी अवैध हुन्। कानुन आएयता आधिकारिक बिक्रेता नभई आएका गाडीबारे समेत छानबिन गरिने विभागले जनाएको छ।
प्रिन्सामाथि पनि छानबिन सुरु
भन्सार विभागले अउडीको इलेक्ट्रिक कार नेपाल भित्र्याएको प्रिन्सा अटोमोबाइल्समाथि पनि छानबिन थालेको छ। अउडीले आधिकारिक विक्रेता नै नियुक्त नगरी प्रिन्साले कार आयात गरेपछि त्यसमाथि पनि छानबिन थालिएको हो।
‘हामीले सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट कागजात झिकाएर अनुसन्धान गरिरहेका छौँ, आयातकर्तासँग पनि कागजात मागेका छौँ,' स्रोतले भन्यो, 'आर्थिक ऐनमा भएको व्यवस्थाविपरीत आयात गरेको पाइए सरकारले आयात गरिएका गाडी जफत गर्छ।’
भन्सार कार्यालय, विभाग र अर्थ मन्त्रालयसमेतको सक्रियतामा भइरहेको अनुसन्धानमा ती गाडी अहिलेसम्म कसरी आयात भइरहेका छन् भन्ने पनि खोजिने छ। ‘पहिलो चरण अउडी र ल्यान्ड रोभरका गाडीबारे छानबिन हुन्छ,' स्रोतले भन्यो, 'त्यसपछि २०६३ देखि हालसम्म आधिकारिक बिक्रेता बिना आयात भएका गाडीको समेत छानबिन थाल्छौँ।’
ज्यागुअरका अनुसार नेपाली बजारमा हाल ल्यान्ड रोभरका गाडीको अवैध आयात (ग्रे इम्पोर्ट) भइरहेको छ। ज्यागुअर ल्यान्ड रोभर एसिया प्यासिफिक रिजनले नेपाल लाइभलाई दिएको जानकारीअनुसार नेपालमा ज्यागुअरका सबै सवारीसाधनको 'ग्रे इम्पोर्ट' भएको छ।
कानुनअनुसार नेपालमा आधिकारिक बिक्रेता नभई सवारी आयात गर्न पाइँदैन। तर किशोर गेयरले ३ वर्षदेखि अवैध रुपमा ल्यान्ड रोभरका गाडी आयात गर्दासमेत सरकारले पत्तो नपाउनु अनौठो भएको एक व्यवसायीले बताए।
‘३ वर्षदेखि कानुनविपरीत सवारी आयात हुँदा सरकारले थाहा नपाउनु अनौठो हो,’ ती व्यवसायीले भने, ‘यो थाहा नपाएको भन्दा पनि थाहा नपाएजस्तो गरेको देखिन्छ।’
आर्थिक ऐनमा सवारी वा ढुवानीका साधन पैठारी गर्दा निश्चित शर्त पालना गर्नुपर्छ। त्यसअन्तर्गत 'निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधन नेपालस्थित आधिकारिक बिक्रेताले मात्र पैठारी गर्न पाउनेछन्। आर्थिक ऐनमा नै 'उल्लेखित शर्त उल्लंघन गरी पैठारी गरिएको सवारी वा ढुवानीका साधनहरु जफत गर्न सकिने छ’ भनी उल्लेख छ।
यो कानुनअनुसार २०७३ भदौयता नेपाल भित्र्याइएका ल्यान्ड रोभरका सबै गाडी अवैध हुन्। नेपालमा ल्यान्ड रोभर तथा रेन्ज रोभरका विभिन्न मोडलका सवारी आयात भइरहेका छन्।
थप समाचार
ल्यान्ड रोभरका गाडी ३ वर्षदेखि अवैध आयात : सरकार मौन, प्रवृत्ति मौलाउँदो
प्रिन्साले भित्र्याएको अउडी कार अवैध, जफत हुन सक्ने : आर्थिक ऐन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।