काठमाडौं- सबै एटिएम बुथबाहिर २४सै घन्टा सुरक्षा गार्ड राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
राष्ट्र बैंकको बिहीबारको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाबाट संचालित सम्पूर्ण एटिएम बुथहरुमा २४सै घन्टा अनिवार्य रुपमा सुरक्षा गार्डको व्यवस्था गरी बुथको विशेष निगरानी गर्नुपर्नेछ।
नेपालको बैंकिङ क्षेत्रमा भएका पछिल्ला साईबर हमला तथा डकैतीका घटना पनि राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो। एटिएम सुरक्षा सम्बन्धी राष्ट्र बैंकको नयाँ निर्देशन आएपछि एटिएम सुरक्षामा बैंकहरुको लागत बढ्ने देखिएको छ।
यसका साथै एटिएम बुथहरुमा कुनै व्यक्ति वा संस्थाबाट संकास्पद गतिविधि भएको शंका लागेमा सम्बन्धित संस्थाले तोकेको पदाधिकारी वा निकायमा तत्काल सुचना दिने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।
हरेक बैंक तथा वित्त संस्थाले सुचना प्रविधि सम्बन्धमा आकस्मिक सहायता समुह गठन गरि कार्यान्वयनमा ल्याई त्यसको जानकारी राष्ट्र बैंकलाई दिन पनि बैंकले निर्देशन दिएको छ।
कुनै पनि किसिमको साईबर आक्रमण, शंकास्पद गतिविधि वा अनधिकृत पहुँच भएमा जतिसक्दो चाँडो त्यसको सुचना सम्बन्धित बैंक वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई दिनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।