काठमाडौं- स्वदेशी वस्तु तथा सेवाको प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने ‘मेड इन नेपाल एक्स्पो २०७६’ हुने भएको छ। नेपाली युवा उद्यमी मञ्चले आयोजना गर्न लागेको ७औं संस्करणको ‘मेड इन नेपाल एक्स्पो’ को तयारी पूरा भएको मञ्चले जनाएको छ।
मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी असोज १० र ११ गते ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा मेला हुने जनाएको हो। मुलुकभित्र स्वदेशी उत्पादन तथा सेवाको विस्तार, लगानी प्रवर्द्धन तथा रोजगारी सृर्जनामा सहयोग पुर्याउने उद्देश्यले मेला आयोजना गर्न लागेको मञ्चका अध्यक्ष निकोलस पाण्डेले बताए।
मञ्चले सन् २००६ देखि निरन्तर यस्तो मेला आयोजना गर्दै आईरहेको छ। ‘आफ्नो भन्या आफ्नै हो’ भन्ने नाराका साथ आयोजना हुन गइरहेको प्रदर्शनीले सामाजिक जागरुकता र राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्याउने मञ्चको अपेक्षा छ।
नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर आयोजना गरिएको मेलामा विभिन्न सास्कृतिक कार्यक्रम पनि हुँदैछ। त्यसैगरी, दसैंमा सपिङ गर्नेलाई समेत सहयोग हुने गरी मेलामा सामग्री प्रदर्शनमा राखिने आयोजकले जनाएको छ।
यस पटकको मेलामा साना उद्यमीलाई पनि अवसर दिएको मञ्चले जनाएको छ। त्यसले साना व्यवसायबाट अगाडि बढेका उद्यमीलाई हौसला प्रदान गर्ने र रोजगारी सृजनामा सहयोग पुर्याउने अध्यक्ष पाण्डेको भनाइ छ। साना व्यवसायीलाई प्रवर्द्धन गर्न करिब १२ जना उद्यमीलाई निःशुल्क स्टलको व्यवस्थासमेत गरिएको उनले बताए।
मेलामा श्रृङ्गार, कपडा, जुत्तालगायतका साना ठुला वस्तु तथा सेवाका ७० बढी स्टल रहने छ। दुई दिन चल्ने एक्स्पोमा २० हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने आयोजकको दाबी छ। निःशुल्क प्रवेश दिइने मेलामा खाना महोत्सव, सांस्कृतिक कार्यक्रमसहित बालबालिकाहरुका लागि खेलकुदको व्यवस्था समेत गरिएको छ।
नेपाली युवा उद्यमी मञ्च देशभरका ४० वर्ष मुनिका युवा उद्यमीहरुको साझा मञ्च हो। मञ्चका विभिन्न जिल्लामा ७ वटा शाखा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।