काठमाडौं- एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंकबीच आइतबारबाट एकीकृत कारोबार सुरु हुने भएको छ। दुई संस्थाको मर्जर प्रक्रिया टुंगिएसँगै अब दुबैको संयुक्त कारोबार ‘एनएमबी बैंक लिमिटेड’का नाममा हुनेछ।
शनिबार एक विशेष कार्यक्रमबीच एकीकृत कारोबार सुरु गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले जानकारी दिए। ‘हामीले ओमसँगको मर्जरको सबै प्रकृया पुरा गरेका छौं। शनिबार आधिकारिक घोषणा हुनेछ भने आइतबारबाट एकीकृत कारोबार शुरु हुनेछ,’ केसीले भने।
दुई संस्थाबीच मर्जरमा जाने गरी गत जेठ २ गते प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो भने एनएनबी बैंकको गत साउन २८ गते बसेको वार्षिक साधारण सभाले ओम डेभलपमेन्ट बैंकसँग गाभ्ने निर्णय पारित गरेको थियो।
दुई संस्थाको एकीकृत कारोबार सुरु भएसँगै चुक्ता पुँजी साढे ११ अर्ब पुगेको छ भने निक्षेप १ खर्ब १९ अर्ब रुपैयाँ र कर्जा १ खर्ब १३ अर्ब रुपैयाँ पुग्नेछ। एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकको सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य अवस्थाका का आधारमा शेयर मुल्य अनुपात १००:७५ कायम गर्ने सहमति यसअघि नै भइसकेको छ।
एकीकृत कारोबारपछि सो बैंकको शाखा १ सय ६३ र एटिएम संस्था १ सय २० पुग्नेछ।
संस्था मर्जरमा जाँदा पेचिलो बन्ने कर्मचारी समायोजनको विषयलाई पनि दुई संस्थाले सजिलै सल्टाएका छन्। यद्यपि ओम डेभलपमेन्ट बैंकका सिईओ विश्वमोहन अधिकारी भने नयाँ व्यवस्थापन टिम बाहिर हुनेछन्। अधिकारीले राजीनामा दिएर संस्था छोड्ने निर्णय लिएको केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।