काठमाडौं- संसारकै ठूलोमध्येको एक फ्र्याङ्कफर्ट मोटर शो २०१९ जर्मनीमा २ दिनअघि समापन भएको छ। संसारका अटो उपभोक्ताहरुको ध्यान आकर्षित गर्ने सो मोटर शोमा विश्वका ठुला कार निर्माता सहभागी हुने गरेका छन्।
मर्सिडिज, अउडी, पोर्स्च, बिएमडब्लूलगायत प्रिमियम अटो ब्रान्ड जर्मनीमै भएको र अन्य देशका ठूला ब्रान्डले समेत सहभागिता जनाउँदै आएका छन्।
फ्र्याङ्कफर्ट मोटर शो २०१९ मा ठूलो मोटर शोमा ठूलो सवारी उत्पादकले इलेक्ट्रिक सवारीलाई उच्च प्राथमिकता दिएको देखिन्छ।
युरोपेली, कोरियनदेखि चिनियाँ ब्रान्डका इलेक्ट्रिक कार तथा कन्सेप्टर कारको प्रदर्शनी उक्त मोटर शोमा भएको थियो।
तीमध्ये ६ वटा आकर्षक इलेक्ट्रिक कारका बारेमा यहाँ उल्लेख गरिएको छ।
फक्सवागन आइडी-३
फक्सवागनले फ्र्याङ्कफर्ट मोटर शोमा नयाँ इलेक्ट्रिक कार आइडी-३ सार्वजनिक गरेको छ। फक्सवागन गल्फकै आकारमा बनेको यो कार ५ सिट क्षमताको ह्याचब्याक सेगमेन्टको कार हो।
यही कारको एसयुभीलगायत अन्य मोडलसमेत बन्ने बताइएको छ।
आकर्षक डिजाइन भएको यो कारको मूल्य बेलायतमा २७ हजार पाउन्ड रहेको छ। फक्सवागन आइडी-३ सन् २०२० को मध्यदेखि बिक्रीका लागि बजारमा आउने छ।
ल्यान्ड रोभर डिफेन्डर
ल्यान्ड रोभरले डिफेन्डर ब्रान्ड निकै समयअघि बजारमा ल्याएको हो। कम्पनीले डिफेन्डरको नयाँ कन्सेप्ट २०११ मै सार्वजनिक गरेको थियो।
सोही कन्सेप्टलाई परिमार्जन गर्दै कम्पनीले फ्राङफर्ट मोटर शोमा सार्वजनिक गरेको हो। आकर्षक मानिने यो कार डिफेन्सरको कन्सेप्ट ‘गो एनिह्वेर’मा आधारित छ।
नयाँ डिफेन्डर भ्यान–व्याक भर्सनको मूल्य ३५ हजारदेखि ४० हजार पाउन्डसम्म रहेको छ। त्यस्तै अर्को भर्सनको मूल्य ४५ हजार ३ सय ५० पाउन्ड रहेको कम्पनीले जनाएको छ।
मर्सिडिज बेन्च भिजन इक्युएस
मर्सिडिज बेन्जले नयाँ इलेक्ट्रिक प्लेटफर्मको रुपमा भिजन इक्यूएस ल्याएको हो। मर्सिडिजको माउ कम्पनी डिमलर एजीले २०३९ देखि कार्बनडाइअक्साइडमुक्त सवारी बनाउने घोषणा गरी सकेको छ।
मर्सिडिजले उच्च माइलेज क्षमताको इलेक्ट्रिक कार ल्याउने तयारी गरेको छ। कम्पनीले भिजन इक्युएस डिजाइनमा आधारित कार २०२२ सम्ममा बजारमा आउने छ।
यो कन्सेप्टमा आधारित कार बजारमा आएपनि मर्सिडिजको एस–क्लास र लिमोजिन ब्रान्ड विस्थापित हुने छैन।
पोर्स्च टेयकन
पोर्स्चले २०१५ मा मिसन इ-कन्सेप्ट सार्वजनिक गरेको थियो। सोही कन्सेप्टका आधारमा लक्जरी इलेक्ट्रिक सलोन टेयकन फ्र्याङ्कफर्टफर्ट मोटर शोमा सार्वजनिक भएको हो।
यो कार सीमित संख्यामा मात्र उत्पादन हुने कम्पनीले जनाएको छ। यो कारको मूल्य तथा अन्य विशेषताबारे खुलाइएको छैन।
हुन्डाई ४५ कन्सेप्ट
फ्र्याङ्कफर्टमा कोरियन कार उत्पादक कम्पनी हुन्डाईले नयाँ इलेक्ट्रिक कारको कन्सेप्ट सार्वजनिक गरेको हो। कम्पनीले विभिन्न डिजाइनमा आधारित रहेर ४५ कन्सेप्ट ल्याएको हो।
यो कारको भित्री भाग तुलनात्मक रुपमा ठूलो हुने गरि डिजाइन गरिएको छ। यो कार इलेक्ट्रिक हुनेछ भने विश्वसनीय डिजाइनमा आधारित हुने कम्पनीले जनाएको छ।
बिएमडब्लू भिजन एम नेक्स्ट
प्राविधिक रुपमा बिएमडब्लू डिजन एम टेक्स्ट सुपर कार हो। यो कन्सेप्ट कार फ्र्याङ्कफर्ट मोटर शोभन्दा केही दिन अघि सार्वजनिक भए पनि औपचारिक रुपमा भने शोमै सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
यो कन्सेप्टअनुसार कारको पावरट्रेन इलेक्ट्रिक हुनेछ भने कार बारे थप तथ्य खुलाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।