काठमाडौं- म्यानपावर व्यवसायीको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार २७औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
म्यानपावर व्यवसायीहरु संस्थागत बनेर व्यवसाय सञ्चालन गर्दै आएको २७औँ वर्ष भइसकेको छ। यस अवधिमा वैदेशिक रोजगारीका क्षेत्रमा अपेक्षित सुधार नभएको टिप्पणी भने उतिकै छ।
पछिल्लो समय वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारले पहल गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन्।
‘वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने सम्बन्धमा सरकारले श्रमिक तथा आम व्यवसायीको हकहित मध्यनजर गर्दै अघि बढेको छ। 'व्यवसायीले सरकारले म्यानपावर व्यवसायीलाई मर्कामा पार्ने गरी निर्णय गरेको भन्ने कुराहरु उठिरहेका छन्,' मन्त्री विष्टले भने, ‘व्यवसायीहरु कसरी मर्कामा पर्नु भयो, औचित्यपूर्ण र समसामयिक गुनासा लिएर आउनुस्, सरकारको तर्फबाट म तपाइँहरुका हजारौँ गुनासोहरु सुन्न तयार छु।’
म्यानपावर व्यवसायीको नयाँ नेतृत्वको चयन समेत मंगलबार नै भएकाले सरकारसँग हातेमालो गरेर अगाडि बढ्न सक्ने नयाँ नेतृत्वलाई मत दिएर छनोट गर्न मन्त्री विष्टले व्यवसायीलाई सुझाए।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले २ वर्षको कार्यकालमा आफूले अध्यक्ष पदमा रहँदा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
‘मेरो कार्यकालमा पनि सम्पूर्ण व्यवसायी तथा श्रमिकहरुको हकहितकै विषयमा अगाडी बढेको छु, अबको नयाँ नेतृत्वका व्यवसायीसाथीहरुले वैदेशिक रोजगार व्यवसायलाई थप व्यवस्थित गर्नु हुनेछ भन्ने अपेक्षा लिएको छु,’ अध्यक्ष गुरुङले भने।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तवले पनि वैदेशिक रोजगारीको छवि सुधारोन्मुख रहेको बताए। उनले भने, ‘पछिल्ला वर्षमा विस्तारैविस्तारै वैदेशिक रोजगारी सुधारको बाटोमा छ, यसमा अझै केही सुधार गर्नुपर्ने विषयहरु छन्, थप सुधारको अपेक्षा हामीले गरेका छौँ र सम्बन्धित सबैले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन आफ्नो आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न जरुरी छ।’
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि सुदीप पाठकले वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठनले तयार पारेको ‘राष्ट्र निमार्णको आधार सुरक्षित वैदेशिक रोजगार’ नारालाई व्यवहारमा उतार्न व्यवसायीहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए।
उनले भने, ‘१० वर्ष अगाडीको वैदेशिक रोजगारी र अहिलेको वैदेशिक रोजगारीलाई तपाईं आफैँ दाँजेर हेर्नुहोस्। वैदेशिक रोजगारीमा धेरै परिवर्तनहरु आएका छन्। पहिले वैदेशिक रोजगारीमा मानव अधिकार आयोगको कुरा नै उठ्दैन थियो। वैदेशिक रोजगारीमा मानव हकअधिकार हननका विषय जोडिएकाले हामी यता पनि गम्भीर भएर लाग्ने छौँ।’
नयाँ नेतृत्वका लागि मतदान मंगलबार
म्यानपावर व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायीहरुको नयाँ नेतृत्वका लागि निर्वाचन आजै हुँदैछ। होटल हायातस्थित साधारणसभा कार्यक्रम समापनपछि ४ बजेपछि मतादान कार्यक्रम सुरु हुने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए।
आगामी नेतृत्वका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार फोरमबाट विष्णुप्रसाद गैह्रे र नेकपा निकट प्रगतिशील वैदेशिक रोजगार मञ्चका तर्फबाट सरोजकुमार पोखरेल भिड्ने भएका छन्।
लोकतान्त्रिक वैदेशिक रोजगार फोरमबाट घोषित विष्णु गैरे समूहको १७ सदस्यीय प्यानल घोषणा भइसकेको छ। प्यानलका प्रथम उपाध्यक्षका लागि कमल तामाङ, द्वतीय उपाध्यक्षमा कमल देव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिव मेघनाथ भुर्तेल, कोषध्यक्षमा इन्दिरा गुरुङसहित १७ सदस्य छन्।
प्रगतिशील वैदेशिक रोजगार मञ्चबाट घोषित सरोजकुमार पोखरेल समूहको १६ सदस्यीय प्यानल घोषणा भएको छ। प्यानलमा प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सञ्जु गुरुङ र कोषाध्यक्षमा तेज माया लिम्बू चुनावी मैदानमा छन्। यसका साथै सदस्य पदका लागि १६ सदस्य निर्वाचनमा होमिएका छन्। दुवै प्यानलबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।