काठमाडौं- ४ सय मेगावाट उत्पादन क्षमताको तल्लो अरुण जलविद्युत आयोजनामा भारतीय र जापानी कम्पनीले चाँसो देखाएका छन्।
लगानी बोर्डको ४० औं बोर्ड बैठकले तल्लो अरुण आयोजना बनाउनका लागि आएका आशयपत्रहरु मध्ये दुई प्रस्तावकहरुलाई ‘सर्टलिस्ट’मा राखिएको लगानी बोर्डले जनाएको छ।
यस्ता प्रस्तावहरुमा भारतको कम्पनी एसजेभिएन र जापानको कम्पनी जे पावर छ। तर, दुबै कम्पनीले नेपाली कम्पनीसँग संयुक्त उपक्रम (जोइन्ट भेन्चर) मा काम गर्ने आशयपत्रमा उल्लेख गरेका छन्।
भारतीय सरकार र हिमांचल प्रदेशको जोइन्ट भेन्चरमा संचालित कम्पनी सतलज जलविद्युत विकास निगम (एसजेभिएन)ले नेपालको हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडसँग मिलेर आयोजना बनाउने भनेको छ।
त्यसैगरी, ग्रिन सिसोर्सेज प्राईभेट लिमिटेडसँगको संयुक्त उपक्रममा जापानको इलेक्ट्रिक पावर डेभलपमेन्ट कम्पनी (जे-पावर)ले पनि आयोजना बनाउन चाँसो देखाएका छन्।
भारत सरकारले अरुण तेश्रोकै मोडलमा तल्लो अरुण निर्माणको जिम्मा पनि भारतीय कम्पनीलाई नै दिनुपर्ने भन्दै नेपालसँग आग्रह गर्दै आएको छ।
सतलज भारतीय सरकारकै लगानीको कम्पनी भएका कारण पनि भारतले यो विषयलाई प्राथमिकताका साथ हेर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।