भक्तपुर- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभई जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरेकी छन्। राष्ट्रिय सहकारी महासंघले मन्त्रालयको सहयोगमा 'प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी' विषयमा आयोजना गरेको २ दिने प्रादेशिक गोष्ठीलाई आइतबार भक्तपुरमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो आग्रह गरेकी हुन्।
मन्त्री अर्यालले खासगरी योजना बाँडफाँटका क्रममा हुने बेथिति इङ्गित गर्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई भन्दा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गरेकी हुन्।
'योजना माग्न आउँदा कागज बनाएर ल्याउनेलाई मात्र योजना नदिनुस्। काम गर्नेले पाउँदैन। कागज बनाउनेले पाउँछ। कागज बनाउनेले पाउँछ। नीजि स्वार्थमा प्रयोग गर्छ,' मन्त्री अर्यालले भनिन्, 'सबै जनतालाई समेटेर काम गर्नेले योजना पाउदै पाउदैन। किनकी उसको नेतासँग पहुँचै छैन । र उ दिनदिनै आउन पनि भ्याउदैन । अनि भेट्न पनि सक्दैन।'
जनप्रतिनिधिहरू सचेत हुदै मसिनो ढंगले, सिर्जनशील ढंगले जनताको घरदैलोमा लाभान्वित हुने खालको काम गर्न मन्त्री अर्यालले स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरिन्। एक वर्षमा संघियतालाई कुशलतापुर्वक कार्यान्वयन गर्न सरकार सफल भएको दाबी उनको थियो।
कार्यक्रममा मन्त्री अर्यालले सहकारी महासंघको तर्फबाट इन्डियन फार्मर फर्टिलाइजर कोअपरेटिभ (इफ्को)का एमडी डा. युएस अवस्थीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।