टर्कीबाट फर्काइएका कामदार।
काठमाडौं- वैदेशिक रोजगारीका लागि टर्कीस्थित आइजिए कम्पनीमा रोजगारीका लागि पुगी करार अवधि अगावै फिर्ता पठाइएका १ सय ७० जना श्रमिकहरुलाई कम्पनीले क्षतिपूर्ति पठाएको छ।
आइजिए कम्पनीले प्रतिकामदार ५ सय र ७ सय अमेरिकी डलरका दरले १ सय ७० जनाको ९७ लाख ९ हजार ९ सय ८६ रुपैयाँ क्षतिपूर्ति पठाएको हो।
नेपालस्थित युरो नेपाल, एचआर, अवसर नेपाल, स्विफ्ट नेपाल, डेल्टालगायत म्यानपावर कम्पनीमार्फत २ वर्षको करारनामा पत्रमा हस्ताक्षर गरेर टर्की पुगेका १ हजार ३ सयभन्दा बढी कामदारहरु ७ महिनामै फर्काइएका थिए।
स्काप फोल्डिङ काम भनेर क्लिनर लगायत काममा पुर्याइएको, तलब मासिक ५ सय डलर हुने सुनाइए पनि मासिक २ सय मात्रै दिइएको पीडितहरुले बताएका थिए।
करार अवधि अगावै विभिन्न समयमा फर्काइएका २ सयभन्दा बढी श्रमिकहरुले वैदेशिक रोजगार विभाग बुद्धनगरमा उजुरी दिएका थिए। उजुरी दिएकामध्ये १ सय ७० जना कामदारहरुलाई टर्कीस्थित आइजिए कम्पनीले क्षतिपूर्तिस्वरुप रकम पठाएको विभागका निर्देशक हरिप्रसाद ज्ञवालीले बताए।
‘आइजिए कम्पनीले कामदारलाई तोकेर नै कसैलाई ५ सय डलर र कसैलाई ७ सय डलर पठाएको छ। धेरै कामदारलाई ५ सय डलर पठाएको छ,’ निर्देशक ज्ञवालीले नेपाल लाइभसँग भने।
धेरै पीडितलाई पठाइएन क्षतिपूर्ति
युरो नेपाल म्यानपावर कम्पनीमार्फत रोजगारीका लागि टर्की पुगेर ७ महिनामै फर्काइएका उदयपुरका चन्द्र खड्काले पनि विभागमा उजुरी दिएका थिए।
म्यानपावर कम्पनीलाई ५ लाख रुपैयाँ बुझाएर टर्की पुगेका उनलाई २ वर्षको करार अवधि भनेर ७ महिनामै फिर्ता पठाइएको थियो। ७ महिनामै फिर्ता पठाइएका उनले म्यानपावरविरुद्ध ठगीको उजुरी दिएका थिए।
‘म पनि उजुरी दिने १ सय ७० भित्रै पर्ने हो, मेरो नाम भने क्षतिपूर्ति पाउनेको सूचीमा छैन, मसँगै आएका युरो नेपालमार्फत टर्की पुगेका अरु धेरै साथीहरुको नाम पनि छैन,’ उनले भने।
विभागका निर्देशक ज्ञवालीका अनुसार ति क्षतिपूर्ति पाउने १ सय ७० जनालाई आइजिए कम्पनी आफैँले छनोट गरी पठाएको हो।
‘कम्पनीले नै क्षतिपूर्ति पाउने नाम र रकम तोकेर पठाएको हो, सोहीअनुसार हामीले सार्वजनिक गरेका हौँ। विभागमा कम्पनीबाट क्षतिपूर्तिका लागि मेरो नाम छुट्यो भनेर कोही पनि पीडितहरु आएका छैनन्,’ निर्देशक ज्ञवालीले भने।
म्यानपावर कम्पनीलाई कम्तीमा ३ लाखदेखि ५ लाख रुपैयाँसम्म बुझाएर गएका पीडित कामदारहरु अलपत्र परेर फर्किएपछि विभागमा उजुरी दिएको ९ महिना बितिसकेको छ। म्यानपावरको धरौटी रकमले पीडित कामदारहरुको क्षतिपूर्ति मागदाबीको बिगो भर्न नपुगेकाले पीडितहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन नसकिएको विभागको भनाइ छ।
क्षतिपूर्ति पाउने कामदारको सूचीः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।