सिन्धुपाल्चोक- उमेरले ३९ टेकेकी बाह्रबिसे नगरपालिका–७ घुम्थाङस्थित थगाम टोलकी माइली तामाङको फुर्सदिलो दैनिकी अचेल गलैंचा बुनेर बित्ने गरेको छ। घरको काम गरेर बचेको समय उनी गलैंचाको तानलाई दिने गरेकी छिन्।
शारीरिक रुपमा पनि धेरै भार नपर्ने हुँदा उनले यो पेसालाई व्यवसायिक बनाएकी हुन्। घरमै बसेर अरु काम भ्याएर पनि सजिलैसँग गलैंचा बुन्न सकिने भएकाले यो पेसाप्रति रुची बढेको उनी बताउँछिन्। ‘पढाइ गर्न सकिएन, अरु सिप पनि नजानेकाले अहिले यसैमा सन्तुष्ट छु,’ उनले भनिन्, ‘यो काम बुढ्यौली उमेरसम्म गर्न सकिन्छ, मर्ने बेलासम्म पनि कमाउन सक्छु जस्तो लागेर यो काम रोजेँ।’
एउटा गलैंचा बुन्न १५ दिनजति समय लगाउने माइली बताउँछिन्। ‘यो सिप सिकेर घरबार धानेकी छु,’ उनी भन्छिन्, ‘सामान्य गलैंचा बेचेर पनि मासिक ४० हजारसम्म आम्दानी हुन्छ।’
वर्ष दिनदेखि सुरु गरेको गलैंचा बुन्ने कामबाट सहजै घर खर्च धान्ने आम्दानी हुने भएपछि उनी थप हौसिएकी हुन्।
माइली जस्तै निशा तामाङ (२८) को पनि दैनिकी गलैंचाकै कारण फेरिएको छ। गएको जेठबाट तानमा बस्न सुरु गरेकी निशाले गलैंचा बुनेर कमाइ बलियो बनाउन सक्ने भइसकेकी छिन्।
‘पहिला समय त्यत्तिकै खेर जान्थ्यो, अहिले यसैले आत्मनिर्भर बनाएको छ,’ उनले भनिन्, ‘एउटा गलैंचा तयार गर्न बढीमा महिना दिन लगाउँछु।’
उनले तयार गरेको गलैंचा गाउँमै आएर व्यवसायीले खरिद गर्ने गरेका छन्। त्यसैले पनि काम गरेर बिक्री नहोला भन्ने चिन्ता उनमा छैन।
माइली र निशा मात्रै होइन शैक्षिक र आर्थिक रुपले पछि परेको तामाङ जातिको थगाम टोलमा ३० भन्दा बढी महिलाले गलैंचा बुन्ने काम गरेर घरबार धान्दै आएका छन्। उनीहरुले पेसालाई व्यवसायिक बनाउन समूहमार्फत काम गर्छन्। संस्थागत रुपमै एकताबद्ध भएर काम गर्दा सहज हुने भएकाले उनीहरु संगठित बनेका हुन्।
गलैंचा बुन्ने जनजाति महिलाहरुले प्रगतिशील महिला उद्यमी समूह गठन गरेका छन्। ‘यही संस्थामार्फत गाउँका महिलाहरुलाई सिप प्रदान गर्ने गरेका छौं,’ समूहकी कोषाध्यक्ष विष्णुमाया तामाङ भन्छिन्, ‘गलैंचा बुन्न रुचि हुनेहरुलाई पहिले तालिम दिलाउँछौं।’ उनले गाउँका महिलाहरु गलैंचाबाट सोचेजस्तो आम्दानी हुने थाहा पाएपछि यसतर्फ आकर्षित भएको बताइन्।
उनीहरुमा यो सिप र जाँगर भने भूकम्पपछिको जीविकोपार्जनको लागि स्थानीय निकायबाट एक लाख ६० हजार र सामाजिक संस्था टुकी संघ सुनकोसीले ५० हजार रकम उपलब्ध गराएपछि सुरु भएको हो। सो रकमबाट गाउँमा गलैंचा उद्यम सुरु गर्नको लागि तालिम र आवश्यक अन्य कच्चा सामग्री खरिद गरिएको प्रगतिशील महिला उद्यमी समूहले जनाएको छ।
गलैंचा बुन्नुको सिपप्रतिको आकर्षणले गर्दा यो टोलको झन्डै घरैपिच्छेका महिला उद्यमी बनेका छन्। गलैंचा बुन्न जानेकाले घरेलु र खेतीपातीको कामबाट बचेको समयलाई सदुपयोग गर्ने गरेको विष्णुमाया बताउँछिन्। गफगाफमा बित्ने समयलाई गलैचा बुन्नमा लगाएपछि आपसमा सद्भाव बढ्दै गइरहेको उनको अनुभव छ।
गलैंचा बुन्ने पेसा अरुभन्दा दीर्घकालीन र क्षमता बढाउने देखेकाले जनजाति महिलाहरुमा आकर्षण बढेको हो। शारीरिक कष्ट कम हुने हुँदा बुढ्यौलीले छुने बेलासम्म पनि काम गर्न सकिने हुँदा यो पेसामा लागेको उद्यमीहरुको भनाइ छ। गलैंचा बुन्ने उद्यमी बढेपछि यहाँका महिलाले आफै कारखाना खोल्ने उद्देश्य राखेका छन्।
घुम्थाङभरका महिलालाई सक्षम बनाउनको लागि गलैंचा बुन्ने सिपमूलक अभियान अगाडि बढाइएको वडाध्यक्ष मीनबहादुर श्रेष्ठ बताउँछन्। ‘जिल्लाबाट वैदेशिक रोजगारीमा गएका महिलाहरु जोखिममा पर्ने क्रम बढेपछि यो गाउँमै रोजगार दिलाउन यो कार्यक्रम सुरु गरिएको हो,’ उनी भन्छन्, ‘आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरु बुझ्दै नबुझी विदेश जाँदा समस्या भोग्नुपरेकाले अध्ययन नभएका महिलाले पनि गाउँमै बसेर कमाउन सक्छन् भनेर देखाउन् पनि यता आकर्षित गरेका हौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।