काठमाडौं- मार्जिन कारोबार सुविधा शीघ्र सञ्चालन गर्न धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ।
बोर्डले बुधबार नेप्सेलाई पत्र पठाउँदै मार्जिक कारोबार सुविधा सञ्चालन गर्न ढिलाइ भएको बारे स्पष्टीकरण सोधको छ भने यथाशक्य चाँडो सञ्चालन गर्न निर्देशनसमेत दिएको छ।
‘मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याउन सम्पूर्ण पूर्वाधार तथा सञ्चालन व्यवस्था तयार भइसकेको परिप्रेक्ष्यमा लगानीकर्ताको हित, दोस्रो बजारको सुधारका साथै धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तारको लागि मार्जिन कारोबार सुविधा सम्बन्धी कार्य शीघ्र सञ्चालन गर्न यो निर्देशन दिइएको छ,’ बोर्डले नेप्सेलाई पठाएको पत्रमा उल्लेख गरिएको छ।
हालसम्म नेपाल राष्ट्र बैंकबाट २१ वटा धितोपत्र दलाल व्यवसायीहरुलाई मार्जिन कारोबारको लागि कर्जा प्रदान गर्न स्विकृति दिइसकिएको छ।
धितोपत्रको दोस्रो बजारमार्फत लगानी गर्ने सर्वसाधारण लगानीकर्तालाई अन्तर्राष्ट्रिय अभ्यासअनुरुप मार्जिन कारोबार सुविधा उपलब्ध गराउने, दोस्रो बजार कारोबारमा तरलता अभिवृद्धि गर्ने तथा धितोपत्र दलाल व्यवसायको दायर गर्ने उद्देश्यले बोर्डले २०७४ कात्तिक २० गते ‘मार्जिन कारोबार सम्बन्धी निर्देशन, २०७४’ जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।