काठमाडौं- मंगलबार कर्मचारी संचय कोषको ५८औं वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषजस्ता सार्वजनिक कोषहरु धितोपत्र बजारमा प्रवेश गर्नुपर्ने धारणा राखेका थिए। अर्थमन्त्री खतिवडाको उक्त धारणा आएसँगै पुँजीबजारमा पनि त्यसको प्रभाव देखिएको छ।
अर्थमन्त्री खतिवडाले सार्वजनिक कोषलाई पुँजीबजारमा भित्र्याउने विषयलाई मंगलबार मात्रै सार्वजनिक गरेपनि नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्जले भने यस विषयमा लामो समयदेखि तयारी गरिरहेका थिए।
नेपाल सरकार मन्त्रीस्तरीय निर्णयबाट गठित ‘मुद्रा तथा पुँजीबजारमा देखिएका प्रवृत्तिहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि श्रोत व्यवस्थापन सम्बन्धी सुझाव समिति’ले दिएको ५८ बुँदे सुझावमा पनि यो विषय उल्लेख थियो।
समितिको सुझावअनुसार धितोपत्र बोर्डले नेप्सेलाई सो विषय कार्यान्वयनमा लैजाने प्रकृया थाल्न निर्देशन दिएको थियो। नेप्सेले पनि कार्यान्यन प्रकृया अगाडि बढाईसकेको जनाएको छ।
नेप्सेका अनुसार कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीलाई बजार निर्माता र व्यापारी (डिलर)को रुपमा कार्य गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा आवश्ययक अध्ययन गरी धितोपत्र प्रतिवेदन बोर्डमा सिफारिस भइसकेको छ।
‘नेपाल स्टक एक्सचेन्जले यो विषयमा अध्ययन प्रतिवेदन तयारी गरी धितोपत्र बोर्डमा पेश गरिसकेको छ। हामीले यो विषयमा लामो समय गृहकार्य गरेका छौं। बोर्ड रसम्बन्धित निकायले उनीहरुको प्रकृया मिलाएपछि लागु हुन्छ,’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले भने।
सार्वजनिक कोष तथा धितोपत्र व्यवसायीलाई बजार निर्माता तथा व्यापारीको कार्य गर्ने व्यवस्था भने नेप्सेको वर्तमान प्रणालीमा नै रहेको समेत नेप्सेले धितोपत्र बोर्डलाई जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।