काठमाडौं- कर्मचारी सञ्चय कोषले मंगलबारबाट योगदानमूलक निवृत्तिभरण प्रणालीको व्यवस्थापनको काम सुरु गरेको छ।
सञ्चय कोषको ५८औं वार्षिकोत्सवको अवसर पारी अर्थमन्त्री डा युवराज खतिवडाले योगदानमूलक निवृत्तिभरण योजनासँगै यसको अनलाइन प्रणालीको पनि उद्घाटन गरेका हुन्।
नोपल सरकार मन्त्रिपरिषदको २०७६ साउन १६ गतेको निर्णयले सरकारी कर्मचारीको योगदानमूलक निवृत्तिभरण प्रणाली व्यवस्थापन गर्ने जिम्मा कर्मचारी सञ्चय कोषलाई दिएको थियो। निवृत्तिभरण कोष ऐन, २०७५ अनुसार यो योजना योगदानमा आधारित हुनेछ। यो योजना निजामती सेवा, नेपाली सैनिक सेवा, नेपाल प्रहरी सेवा, सशस्त्र प्रहरी बल, नेपाल र नेपाल विशेष सेवाका स्थायी कर्मचारीको हकमा लागू हुनेछ।
सरकारी कर्मचारीको मासिक तलबबाट ६ प्रतिशत र सोही अनुपातमा सरकारले जम्मा गरिदिने रकम कोषमा मासिक रुपले जम्मा हुने व्यवस्था छ। अवकाशप्राप्त राष्ट्रसेवक कर्मचारीको निवृत्तिभरणका लागि वार्षिक रुपमा ठूलो धनराशी खर्च हुने र यस्तो खर्च रकम वार्षिक रुपमा वृद्धि हुँदै गएकाले त्यसलाई कम गर्नका लागि सरकारले योगदानमूलक निवृत्तिभरण प्रणाली कार्यान्वयन गर्न लागेको हो।
यो योजनाअनुसार सेवा अवधि २० वर्ष वा सोभन्दा बढी भएका कर्मचारीहरुले अवकाशपश्चात् आजीवन मासिक रुपमा निवृत्तिभरण पाउनेछन्।
मासिक निवृत्तिभरण प्रदान गर्दा कर्मचारीको अन्तिम तलब रकमलाई सेवा अवधिले गुणन गरी ५० ले भाग गरिनेछ। र, प्रत्येक तीन वर्षमा निवृत्तिभरण रकम १० प्रतिशतका दरले बढीमा ५ पटकसम्म बढ्ने गरी व्यवस्था गरिएको छ।
२० वर्ष सेवा अवधि पूरा नहुँदै सेवाबाट अवकाश भएमा भने कोषमा जम्मा भएको रकम, ब्याज रकम र मुनाफा रकम एकमुष्ट भुक्तानी गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।