दार्चुला- जिल्लाका दुई नगरपालिका र दुई गाउँपालिकामा ओखर खेती विस्तार गरिने भएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ, स्याउ जोनमार्फत स्याउ उत्पादन नहुने क्षेत्रमा ओखर खेती विस्तार गरिने भएको हो।
स्याउ जोन कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद ओझाका अनुसार चालू आर्थिक वर्षदेखि महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा ओखर खेती विस्तार गरिने भएको छ। उक्त स्थानीय तहमा स्याउखेती नहुने भएपछि ओखर खेती प्रवर्द्धन गरिन लागेको ओझाले जानकारी दिए। विगतदेखि सो क्षेत्रमा ओखर खेती हुँदै आएको छ। थप यस कार्यालयमार्फत जोनकै रूपमा ओखर खेती लगाइने भएको हो।
साविकको कृषि शाखा कार्यालयमार्फत पनि विगतमा सो क्षेत्रमा ओखर खेती गरिएको थियो। ओखरमा आत्मनिर्भर बनाउन परियोजनामार्फत ओखर खेती विस्तार गरिन लागेको निमित्त कार्यालय प्रमुख ओझाले बताए। यसअघि पनि मालिकार्जुन र शैल्यशिखर क्षेत्रमा राम्रो ओखर उत्पादन हुँदै आएको छ।
यो क्षेत्रको ओखर डडेल्धुरा, डोटी तथा तराईका जिल्लामा निर्यात हुँदै आएको छ। भएकै क्षेत्रमा थप कृषि सामग्री, बोटबिरुवा र उपकरण सहयोग गरेर खेती विस्तार गरिन लागेको कार्यालयले जनाएको छ। जोन कार्यक्रमका लागि ५०० हेक्टर क्षेत्रफलमा ओखर खेती गरिनेछ।
यहाँको माटो र मौसम सुहाउँदो तरिकाले ओखर खेती गरिन लागेको हो। ओखर समुद्र सतहदेखि एक हजार २०० मिटरदेखि २ हजार ५०० मिटरसम्मको पहाडी भू–भागमा उत्तम मानिन्छ। यस क्षेत्रमा उन्नतजातको इङ्गलिस र पर्सियन जातिको ओखर खेती हुँदै आएको छ।
ओखर खेती गर्नका लागि समथल जग्गादेखि २० डिग्री भिरालो जग्गासम्म गर्न सकिने कृषि विज्ञ बताउँछन्। यस्तै खेतबारीका डिल, खरबारी, सार्वजनिक जमीन, सामुदायिक वनमा ओखर खेती लगाउन सकिन्छ। ओखर खेतीका लागि पानीको निकास राम्रो भएको, पानी नजम्ने तर चिस्यान रहिरहने प्राङ्गारिक पदार्थ भएको दुमट माटो उपयुक्त हुन्छ।
हालसम्म यहाँ स्थानीय हाडे ओखर र थिनेसल जातको ओखर खेती गरिँदै आएको छ। यसअघि स्याउ जोन कार्यक्रमअन्तर्गत अपिहिमाल, मार्मा, नौगाड, दुहुँ र व्यास गाउँपालिकामा गत वर्षदेखि स्याउखेती गरिएको छ। ५ गाउँपालिकामा गत वर्षदेखि स्याउखेती शुरु गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।