काठमाडौं- दुई हप्ताअघि नेपालका एटिएममा चिनियाँ ह्याकरले नक्कली कार्डको प्रयोग र स्वीच ह्याक गरी डकैती गरेको भेटिएपछि साईबर सुरक्षाको कारण देखाउँदै नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरिरहेको छ।
अन्तर बैंक कारोबार र विदेशबाट रकम झिक्न प्रयोग हुँदै आएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) र भिजा प्रणालीमा समस्या देखिएपछि राष्ट्र बैंकले त्यसको विकल्पमा नयाँ व्यवस्था अघि सारेको छ।
बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा रहेका आफ्ना कार्ड धारकहरुलाई भदौ १८ गतेदेखि नेप्सको होस्टिङ र स्वीचिङ सेवा अवरुद्ध भएको सम्बन्धमा सो सेवा पुनः सुचारु नभएसम्म वैकल्पिक माध्यमबाट रकम पठाउन सक्ने व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार विदेशी विनियम (नियमित) गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी नयाँ व्यवस्था लागु गरिएको हो।
नेप्स प्रणालीबाट कार्डसम्बन्धी होस्टिङ र स्वीचिङको सेवा लिई परिवर्त्य विदेशी मुद्रा वा भारतीय मुद्राको इलेक्ट्रोनिक कार्डमार्फत भुक्तानी सेवा प्रदान गर्दै आइरहेका बैंक तथा वित्तीय संस्थाहरुले अब त्यस्तो सुविधा फरक ढंगले ग्राहकलाई दिनुपर्नेछ।
राष्ट्र बैंकका अनुसार सेवा अवरुद्ध हुनु अगाडि जारी गरिएका प्रिपेड कार्ड, डेबिट कार्ड र क्रेडिड कार्डमा कायम बाँकी मौज्दातको सीमा सम्मको रकम वैकल्पिक माध्यमबाट दोहोरो नपर्ने गरी रकमान्तर गर्न सकिनेछ। विदेशी मुद्रा सटही सम्बन्धमा हालसम्म जारी भएका परिपत्र र सूचनाको अधीनमा रही यस्तो सेवा प्रयोग गर्नु पर्नेछ।
यस्तो माध्यमबाट रकमान्तर वा भुक्तानी भएको रकम कार्डको सीमाबाट घटाउनुपर्नेछ। साथै, वैकल्पिक माध्यमबाट रकमान्तर गर्दा ग्राहकसँग अतिरिक्त शुल्क लिन नपाउने समेत राष्ट्र बैंकले जनाएको छ।
यसरी हुने वैकल्पिक व्यवस्थाका लागि नेपालमा विप्रेषण पठाउन भारतस्थित विभिन्न स्थानमा रहेका विप्रेषण प्रदायक कम्पनीका केन्द्रहरुमार्फत त्यस्ता कार्ड धारकहरुलाई कार्डमा रहेको रकम सुनिश्चित गरी भारतीय रुपैयाँमा भुक्तानी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
यस्ता कार्ड धारकहरुको निवेदन लिई निज वा निजले अख्तियारी दिएको व्यक्ति वा संस्थाको विदेशस्थित बैंक खातामा उक्त रकम रकमान्तर गर्न सकिनेछ।
यसरी वैकल्पिक माध्यमबाट रकमान्तर गरिएको रकमको साप्ताहिक विववरण सात दिनभित्र नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागमा बुझाइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।