काठमाडौं- विगत १५ महिनायता बन्द रहेको मलेसियाको रोजगारीमा आइतबारदेखि पुनः कामदार जान थालेका छन्।
रोजगारीका लागि मलेसिया जाने कामदारले कुनैपनि लागत तिर्नु नपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको दाबी छ।
नेपाल सरकार र मलेसिया सरकारबीच २०७५ कात्तिक १२ गते भएको श्रम समझदारी अनुसार भदौ २४ र २५ गते मलेसियाको पुत्रजयामा सम्पन्न संयुक्त प्राविधिक कमिटीको बैठकले समझदारीको औपचारिक कार्यान्वयन गर्ने सहमति गरेको जनाइएको छ।
सोही अनुसार सबै प्रकृया पुरा गरेर आएका कामदारहरुलाई श्रम स्विकृति दिन सुरु गरिने बताइएको छ।
मलेसिया र नेपालबीच भएको श्रम समझदारी पत्रमा उल्लेख भएअनुसार कामदार पठाउँदा लाग्ने शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्क, सुरक्षा जाँच, लगायत खर्चहरु सम्बन्धित रोजगारदाताले नै बेहोर्ने मन्त्रालयले बताएको छ।
त्यस्तै ३ वर्ष रहँदै आएको कामदारको करार अवधि २ वर्ष कायम हुने भएको छ। कामदारको पारिश्रमिक प्रत्येक महिनाको ७ गते भित्र बैंक खातामार्फत भुक्तानी हुने र मलेसियाले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी तलब, भत्तालगायत अन्य सुविधा समेत पाउने सुनिश्चितता भएको जनाइएको छ।
समझदारी पत्रअनुसार रोजगारदाताले कामदारका लागि उचित कार्यवातावरण र वासस्थानको साथै व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको समेत प्रवन्ध गर्नुपर्नेछ। नेपाली कामदार मलेसियाको विमानस्थलमा पुगेको ६ घण्टाभित्र गन्तव्य स्थलमा लैजानु पर्नेछ ।
सो हुन नसकेमा उक्त सन्दर्भमा श्रमिकले गर्नुपरेको खर्च रोजगारदाताले नै बहन गर्नुपर्ने व्यवस्था गरिएको छ। महिला कामदारको सम्बन्धमा विशेष ध्यान दिंदै थप सुरक्षा, संरक्षण र रेखदेख गर्नुपर्नेछ। त्यसै गरी कामदार र रोजगारदाताबीच श्रम सम्बन्धी कुनै विषयमा विवाद उत्पन्न भई मुद्दा विचाराधीन रहेसम्मको लागि मलेसिया बस्न पाउने मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिएका छन्।
मलेसियामा कार्यरत नेपाली श्रमिकले आफ्नो परिवारको निकटतम सदस्य (बाबु, आमा, श्रीमान् वा श्रीमती, छोरा वा छोरी) को मृत्यु भएमा बढीमा १५ दिनका लागि स्वदेश आउन पाउने छन्। कार्यस्थलमा हुने कामदारको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेसियाको कानुनले कामदारका सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारको हकमा पनि लागू हुनेछ। भविष्यमा मलेसिया सरकारले बीमा सम्वन्धी नयाँ योजना लागू गरेमा सो नेपाली कामदारलाई समेत लागू हुने बताइएको छ ।
वैदेशिक रोजगारीमा क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली राजदूतावासलाई जानकारी गराउनुपर्ने छ। कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुने उल्लेख छ।
यसका साथै सेक्युरिटी गार्डका रुपमा मलेसिया जाने नेपाली कामदारहरु पनि शुन्य लागतमै जान पाउने सहसचिव घिमिरेले जानकारी दिएका छन्।
यसअघि रोजगारीका लागि मलेसिया जाने कामदारहरु अत्याधिक आर्थिक शोषणमा परेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कर्ण विष्टले २०७२ जेठ २ गते मलेसिया रोजगारी बन्द गराएका थिए ।
पुरानो भेण्डर र प्रकृया खारेज गरी नयाँ प्रकृयामार्फत कामदार मलेसिया पठाउने अडान मन्त्री विष्टले लिएका थिए ।
पुत्राजयमा गत मंगलबार, बुधबार र बिहीबार सम्पन्न संयुक्त कार्यदलको बैठकले समझदारीको औपचारीक कार्यान्वयन हुने गरी पुनः १० बुँदे समझदारी गरेको दाबी गरेको छ ।
यसअघि देखि नै मलेसियासहित खाडीका ६ राष्ट्रमा रहँदै आएको फ्री भिसा फ्री टिकट नीति कार्यान्वयन गर्न सरकार सफल हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।