नयाँ दिल्ली- भारतको प्यासेन्जर कार बिक्री २०१९ को अगस्टमा दुई दशकयताकै कमजोर देखिएको छ। आर्थिक गतिविधिमा आएको कमी र सवारीको स्वामित्व लागतमा भएको वृद्धिका कारण सवारी बिक्री घटेको बताइएको छ।
सोसाइटी अफ इन्डियन अटोमोबाइल्स म्यानुफ्याक्चरर्च (एसआइएएम)ले सार्वजनिक गरेको तथयांक अनुसार २०१९ को अगस्टमा प्यासेन्जर कार बिक्री ३१.५७ प्रतिशतले घटेर १ लाख ९६ हजार ५ सय २४ मा सीमित भएको छ।
एसआइएएमले १९९७/९८ देखि तथ्यांक राख्न सुरु गरेयता यो सबैभन्दा ठूलो गिरावट हो।
त्यस्तै, अर्थतन्त्रको ब्यारोमिटर मानिने कमर्सियल सवारीको बिक्री करिब ३९ प्रतिशतले घटेर अगस्टमा ५१ हजार ८ सय ९७ वटामा सीमित भएको छ।
सवारी बिक्रीमा उल्लेख्य गिरावट आएपछि मारुती सुजुकीले उत्पादन नै बन्द गरेको छ। मारुती सुजुकीले दुई वटा प्लान्टमा सेप्टेम्बर ७ र ९ लाई 'नो प्रोडक्सन डे' मनाएको छ।
भारतमा सवारी बिक्री यही दरमा घट्दै जाने हो भने अटो क्षेत्रको रोजगारीमा व्यापक कटौती हुने अनुमान एसआइएएमका प्रमुख राजन वाधराले बताए। सवारी बिक्री घट्नुको प्रभाव पार्टपुर्जा उद्योगदेखि डिलरसम्ममा असर पर्ने उनको भनाइ छ।
भारतको अटोमोबाइल क्षेत्रले म्यानुफ्याक्चरिङ जिडिपीमा ४९ प्रतिशत योगदान रहेको छ। त्यस्तै भारतको अटो क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ३ करोड ७० लाख मानिसले रोजगारी पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।