काठमाडौं– भारत तथा तेस्रो मुलुकबाट हुने मोबाइल सेट आयातमा कमी आएको छ। भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को तुलनामा गत आर्थिक वर्ष २०७५/०७६ मा मोबाइल सेट आयातमा कमी आएको हो। गत वर्ष करिब ४३ लाख मोबाइल सेट भित्रिएको भन्सार विभागको तथ्यांक छ।
अघिल्लो आर्थिक वर्षका तुलनामा गत आर्थिक वर्षमा १९ लाख ४८ हजार थान मोबाइल सेट कम आयात भएको हो। गत आवमा नेपालले भारत तथा तेस्रो मुलुकबाट ४२ लाख ७५ हजार ५ सय १८ सेट मोबाइल आयात गरेको छ। तर, अघिल्लो आवमा ६२ लाख २३ हजार ६ सय ६५ सेट मोबाइल आयात भएको थियो।
मोबाइल सेटको आयात घटेसँगै मोबाइल आयातका लागि नेपालबाट बाहिरिने रकममा समेत कमी आएको छ। गत आवमा मोबाइल आयातका लागि मात्रै नेपालबाट १९ अर्ब २७ करोड ६९ लाख ९७ हजार रुपैयाँ बाहिरिएको छ। तर, अघिल्लो आवमा यो तथ्यांक २४ अर्ब ८७ करोड ९३ लाख ७८ हजार रुपैयाँ थियो।
सरकारले अघिल्लो आवमा मोबाइल आयात शीर्षकबाट मात्रै ३ अर्ब ५२ करोड ४९ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। गत आवमा भने सरकारले मोबाइल आयात शीर्षकबाट ३ अर्ब ३८ करोड ७५ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
मोबाइल निर्यात पनि घट्यो
मोबाइल आयातमा कमी आएसँगै नेपालबाट निकासी हुने मोबाइलको संख्यामा पनि कमी आएको छ। भन्सार विभागका अनुसार गत आव २०७५/०७६ मा जम्मा १ हजार ८ सय ४२ सेट मात्रै मोबाइल निर्यात भएको छ। तर, अघिल्लो आवमा भने नेपालबाट ७४ हजार ८ सय ८८ थान मोबाइल निकासी भएको थियो।
यसैगरी सरकारले मोबाइल निर्यात शीर्षकबाट गत आव २०७५/०७६ मा २ करोड २ लाख ६८ हजार राजस्व संकलन गरेको छ। अघिल्लो आव २०७४/०७५ मा ५८ करोड ८२ लाख ९८ हजार रुपैयाँ मोबाइल निर्यात शीर्षकबाट राजस्व संकलन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।