काठमाडाैं- गण्डकी प्रदेशका चार दलले पृथ्वी सुब्बा गुरुङलाई पुन: मुख्यमन्त्री नियुक्त गर्नु संविधानको अपमान भएको बताएका छन्।
बुधबार अबेर नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख सीता पौडेलले सामान्य शिष्टाचार समेत ख्याल नराखी गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरिनु पूर्व नियोजित निर्णय भएकाे टिप्पणी गरेका छन्।
गुरुङले आफूमाथिको अविश्वासको प्रस्तावमा मतदान हुने अघिल्लो दिन गत वैशाख २६ गते राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेकी थिइन्। बुधबार अपराह्न ४ बजेसम्म नयाँ सरकारको दाबी गर्न समय दिइएको थियो।
नयाँ सरकार गठनको लागि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गरेको भएपनि उनलाई समर्थन दिएको राष्ट्रिय जनमोर्चाका दुई सांसदले आफू तटस्थ रहेको बताएका थिए।
त्यसपछि संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुन्।
यता चार दलले उपधारा (२) अनुसार नियुक्त भएको मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन नसके उपधारा (३) कार्यान्वयन गर्नुपर्ने पत्रलाई बाइपास गरेर सिधै उपधारा (३) कार्यान्वयन गर्नु असंवैधानिक भएकाे बताएका छन्।
'प्रस्तावक दलहरुको कागजात नपुगे माग्ने हो। आवश्यक छानबिन गर्ने बाटो खुला हुँदाहुँदै प्रदेश प्रमुखले अनावश्यक फैसला गरेर संविधानको घोर अपमान गर्नुभएको छ,' विज्ञप्तिमा भनिएकाे छ,'हामी ४ राजनीतिक दलले दर्ता गरेको निवेदनलाई बेवास्ता गरी पूर्व नियोजित निर्णय गरेर मुख्यमन्त्री नियुक्त गर्नुभएकोमा नियुक्ति प्रति हाम्रो विमती छ।'
गण्डकी प्रदेशसभाको थप राजनीतिक घटनाक्रमले सचेत र जिम्मेवार बनाएकाे भन्दै संविधान, कानुन, विधि र प्रक्रिया मिच्ने प्रवृत्तिविरुद्ध एकताबद्ध र निरन्तर संघर्ष जारी रहने विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।