काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूबीच बुधबार बसेको पदाधिकारी बैठकमा मत बाझिएको छ। वैकल्पिक सरकार गठनका विषयमा छलफल गर्न बसेको अनौपचारिक बैठकमा मत बाझिएपछि बिहीबार फेरि बस्ने गरी बैठक स्थगित भएको हो।
छलफलमा अध्यक्षद्वय महन्थ ठाकुर तथा उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेताहरुद्वय राजेन्द्र महतो र अशोक राई सहभागी थिए।
बाबुराम-उपेन्द्र पक्षले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेतृत्वमा सरकार बनाउने धारणा राखे पनि महन्थ-राजेन्द्र सहमत हुन सकेनन्। यस विषयमा थप छलफल जरुरी भएको भन्दै बिहीबार दिउँसो बैठकलाई निरन्तरता दिने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा सरकार गठनका लागि वैशाख ३० गते (बिहीबार) साँझ ९ बजेसम्मको समयसीमा तोकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।