काठमाडाैं- जनसंख्याका हिसाबले विश्वको सबैभन्दा धेरै कोरोनाविरुद्धकाे खाेप लगाउने अफ्रिकी देश सेचेलेसमा संक्रमितकाे संख्या दोब्बर भएको छ।
सेचेलेसको स्वास्थ्य मन्त्रालयका अनुसार देशभरि सक्रिय संक्रमितकाे संख्या २ हजार ४८६ पुगेकाे छ। यी व्यक्तिमध्ये ३७ प्रतिशतले कोरोनाविरुद्धकाे खोपको दुई डाेज लिसकेका थिए।
सेचेलेसले ५७ प्रतिशत नागरिकलाई चिनियाँ कम्पनी सिनाेफार्म र बाँकीलाई सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेकाे खाेप काेभिशिल्ड दिएकाे छ। विश्वको अन्य भागको तुलनामा याे सबैभन्दा बढी हाे।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सेचेलेसको पछिल्लाे घटनाक्रमलाई हेरिरहेकाे जनाकारी दिएकाे छ।
डब्ल्यूएचओका खोप, खोप तथा जीवविज्ञान विभागका निर्देशक केट ओ ब्रायनले संगठन सेचेलेस सरकारसँग प्रत्यक्ष सम्पर्कमा रहेकाे जनाकारी दिएका छन्।
'काेराेना संक्रमितकाे संख्या र याे घटनाबारे विस्तृत रुपमा अनुसन्धान गरिरहेका छाैं,' उनले भने। यद्यपि, खाेप प्रभावकारी नरहेकाे भनेर अहिल्यै भन्न नमिल्ने उनले बताए।
'खोपकाे अनुसन्धान र परीक्षणबीना याे असफल भयाे भनेर भन्न मिल्दैन। विश्वव्यापी संगठनले यो अवस्थाको समीक्षा गरिरहेको छ,' उनले भने।
यद्यपि, यस डरलाग्दो तथ्यंकका बीच राम्रो कुरा के हाे भने कोरोनाविरुद्धकाे खाेप लिए र पछि संक्रमण पुष्टि भएका काेही संक्रमितकाे ज्यान गएकाे छैन।
सेचेलेसमा हालसम्म ८ हजार १७२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। जसमध्ये ५ हजार ६५८ जना संक्रमणमुक्त भइसकेका छन्।
मन्त्रालयका अनुसार हालसम्म काेराेना संक्रमणकै कारण २८ जनाले ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।