काठमाडौं- नेपाल राष्ट्र बैंकले २०७७ चैत मसान्तसम्ममा ४८ हजार ८ सय ६० ऋणीले पुनर्कर्जाको सुविधा लिएको जनाएको छ।
नेपाल राष्ट्र बैंकले बुधबार चैत मसान्तसम्मको विवरण सार्वजनिक गर्दै उनीहरुले कुल १ खर्ब २३ अर्ब १४ करोड रूपैयाँ लगेको जनाएको छ।
२०७७ चैत मसान्तसम्ममा ८९ हजार ८ सय ७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १ सय ४२ अर्ब २ करोड कर्जा बक्यौता रहेको छ ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४२ हजार ४ सय ४७ ऋणीलाई प्रवाह भएको ९६ अर्ब ६० करोड कर्जा रहेको छ।
यसैगरी, महिला उद्यमशील कर्जा अन्तर्गत ४५ हजार १ सय २८ महिला उद्यमीलाई प्रवाह भएको ४२ अर्ब १६ करोड रूपैयाँ कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३ सय ४ ऋणीको ३ अर्ब २६ करोड कर्जा बक्यौता रहेको छ।
व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७७ चैत मसान्तसम्ममा ४२ करोड रूपैयाँ प्रवाह भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।