काठमाडौं– आफ्नो पार्टी नयाँ सरकार निर्माणको खेलमा संलग्न नहुने जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले बताएका छन्।
प्रधानमन्त्री केपीशर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकी नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको अवस्थामा अध्यक्ष ठाकुरले विज्ञप्तिमार्फत यस्तो बताएका हुन्।
सोमबार संसदमा विश्वासको मत नपाएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउन दलहरूलाई सोमबारै आह्वान गरिसकेकी छन्। राष्ट्रपतिको आह्वानसँगै दुई वा दुईभन्दा बढी दल मिलेर अब यही वैशाख ३० गतेभित्र बहुमत पुर्याई नयाँ सरकार गठन गर्नुपर्नेछ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा (भट्टराई–यादव पक्ष)ले नयाँ सरकार निर्माणका लागि तयारी गरिरहेको समयमा ठाकुरले सोमबार राति नै विज्ञप्ति जारी गरी त्यसको विरोध गरेका हुन्।
‘जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेन्डा सम्बोधनमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत हो,’ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मधेस आन्दोलन र भावनाको प्रतिकूल हो भन्ने हाम्रो ठहर छ।’
अहिलेको अवस्थामा नयाँ सरकार निर्माणमा लाग्दा देशमा झनै अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने ठाकुरको भनाइ छ।
सोमबार दिउँसो संसदमा पनि अध्यक्ष ठाकुर पक्षका सांसद पक्ष वा विपक्ष कतै नलागी तटस्थ बसेका थिए। जारी विज्ञप्तिमा ठाकुरले पुनः ओली नै प्रधानमन्त्री हुनुपर्ने बताएका छन्।
आफ्ना पार्टीले उठाएका मुद्दामा ओली सकारात्मक रहेको तथा उनीसँग भएका वार्ताबाट प्रगतिसमेत भइरहेकाले आफू अर्काे सरकारका पक्षमा नरहेको ठाकुरले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।