काठमाडौं– चन्द्रागिरि नगरपालिकाले कोभिड–१९ का संक्रमितको उपचारका लागि आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ।
नगरपालिकाले आगामी जेठ १ गतेदेखि मातातीर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनमा सेन्टर सञ्चालन गर्ने तयारी गरेको हो।
अक्सिजनसहितको ३० शय्यासहित १ सय शय्याको आइसोलेशन सेन्टर बनाइने सो वडाका अध्यक्ष सन्तोष खड्काले जानकारी दिए।
वडा कार्यालयले प्रयोग गर्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरिने नगरको सामाजिक विकास समितिका संयोजक खड्काले बताए।
चिकित्सक, स्वास्थ्यकर्मीलगायतको समूहले आइसोलेशनमा २४ सै घण्टा सेवा प्रदान गर्ने र बिरामीको अवस्था हेरी आवश्यक परेमा बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि समन्वय गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राममणि घिमिरेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।