काठमामाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बहुमत पुर्याएर सरकार बनाउने बताएका छन्। संसद् बैठकपछि प्रतिक्रिया दिँदै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मत बहुमतबाट अस्वीकृत भएकाले अब बहुमतको सरकार बन्ने बताएका हुन्।
अध्यक्ष प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै बहुमतको सरकार बनाउने प्रक्रिया सुरु गर्न राष्ट्रपतिसमक्ष आह्वान गरेका छन्। राष्ट्रपतिलाई संविधानको धारा ७६ उपधारा (२) अन्तर्गत बहुमतको सरकार गठन गर्न आह्वान गर्न आग्रह गरिएको प्रचण्डले बताए।
‘आज विश्वासको मतको प्रस्ताव बहुमतबाट अस्वीकृत भयो। योसँगै प्रधानमन्त्री केपी ओली पदमुक्त हुनुभयो। अरु कुनै प्रक्रियामा जानु परेन,’ प्रचण्डले भने, ‘हामीले भर्खरै तीन दलको तर्फबाट मैले, शेरबहादुर देउवाजी र उपेन्द्र यादवजीले हस्ताक्षर गरेर संयुक्त वक्तव्यमार्फत राष्ट्रपतिलाई तुरुन्तै संविधानको धारा ७६ को उपधारा (२) अनुसार सरकार निर्माणको लागि आह्वान गरेका छौं।'
औपचारिक ढंगले अब ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सरकार गठनको लागि राष्ट्रपतिले आह्वान गरेपछि सरकार बन्ने प्रचण्डको भनाइ छ। उनले कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जसपालगायत दलहरु सहभागी संयुक्त सरकार बनाउने तयारी भइरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।