काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को दुवै पक्षमा बराबर सांसद खुलेका छन्। सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको विश्वासको मत लिने प्रस्तावमा मतदान गर्ने क्रममा सांसदहरूले आफ्नो कित्ता स्पष्ट पारेका हुन्।
बाबुराम भट्टराई र उपेन्द्र यादवपक्ष तथा महन्थ ठाकुर र राजेन्द्र महतोपक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने क्रममा बराबरको स्थितिमा देखिएका हुन्।
जसपाका ३४ सांसदमध्ये २ जना निलम्बित भएपछि ३२ जना सांसदले मात्रै मत दिन पाउने अवस्था थियो। त्यसमध्ये २ जना सांसद सोमबारको प्रतिनिधि सभा बैठकमा अनुपस्थित भए।
३० जना सांसद बैठकमा सहभागी भएकोमा तटस्थ बस्ने महन्थ–राजेन्द्र पक्षमा १५ जना र बाबुराम–उपेन्द्रपक्षका १५ जना सांसदले ओलीको विपक्षमा मतदान गरेको एक सांसदले बताए।
महन्थ–राजेन्द्रपक्षका लक्ष्मणलाल कर्ण कोरोना पोजिटिभ भइसकेपछि बैठकमा अनुपस्थित भएका थिए। यस्तै, बाबुराम–उपेन्द्रपक्षका रुही नाज अनुपस्थित भएकी थिइन्।
बाबुराम-उपेन्द्रपक्षले यसअघि आफ्नो पक्षमा १८ जना सांसद भएको दाबी गरेपनि मतदानको क्रममा त्यो संख्या पुगेन।
जसपामा सोमबारको राजनीतिक दाउपेचले पूर्व राजपा र समाजवादी समूहका सांसदहरू समेत अदलबदल भएका छन्। तत्कालीन समाजवादी पार्टीका सांसद विमल श्रीवास्तव र उमाशंकर अरगरिया महन्थ-राजेन्द्र पक्षमा खुलेका छन्।
यस्तै, तत्कालीन राजपा पक्षका महेन्द्र राय यादव र चन्द्रकान्त चाैधरी बाबुराम-उपेन्द्र पक्षमा उभिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।