काठमाडौं- गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ।
सोमबार पोखरालगायत प्रदेशका विभिन्न अस्पतालहरुमा उपचारका क्रममा १२ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।
मृत्यु हुनेहरुमा पोखरा महानगरपालिका ७ का ६७ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन्। उनकाे पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे। उनमा वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसैगरी पोखरा महानगरपालिका १३ का ८७ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ। उनमा यही २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
स्याङजा फेदीखोला गाउँपालिका–९ की ६२ वर्षीय महिलाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ। उनमा वैशाख २३ गते संक्रमण देखिएको थियो।
त्यस्तै स्याङजा गल्याङ नगरपालिका ३ का ८४ वर्षीय पुरुषको पोखरास्थित चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ। उनमा यही २१ गते कोरोना संक्रमण भेटिएको थियो।
म्याग्दीको धौलागिरी गाउँपालिका २ का ३७ वर्षीय पुरुषको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ। उनमा यही वैशाख २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो।
रुपन्देहीको बुटवल महानगरपालिका १ का ३४ वर्षीय पुरुषको पनि पोखरास्थित फिष्टेल अस्पतालमा मृत्यु भएको छ। उनमा वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यस्तै पर्वतको कुश्मा नगरपालिका १ का ४७ वर्षीय पुरुषको बागलुङस्थित धौलागिरी अस्पतलमा मृत्यु भएको छ। उनमा यही वैशाख २१ गते कोरोना संक्रमण देखिएको थियो।
तनहुँ भानु नगरपालिका १ का ६५ वर्षीय पुरुषको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। उनमा वैशाख २६ गते कोरोना संक्रमण भेटिएको थियो।
स्याङजाको वालिङ नगरपालिका १ का ६४ वर्षीय पुरुषको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। उनमा यही वैशाख १७ गते संक्रमण देखिएको थियो।
स्याङजाको हरिनाश गाउँपालिका ४ का ५५ वर्षीय पुरुषको पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ। उनमा यही वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसैगरी म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय पुरुषको बेनी अस्पतालमा मृत्यु भएको छ। उनको यही २६ गते कोरोना संक्रमण भेटिएको थियो। पर्वतको कुश्मा गाउँपालिकाका ६७ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। उनमा वैशाख २१ गते संक्रमण भेटिएको थियो।
याेसँगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।