काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जवाफ दिँदै ‘तराइको ठेकेदार’ नठान्न आग्रह गरे। उनले तराइको ठेकेदार जस्तो भएर प्रस्तुत भएको भन्दै यस्तो बताएका हुन्।
उनले भने, ‘कसैको बसोबास कुनै भागमा हुन सक्छ, बसोबास छ भनेर त्यो त्यो ठाउँको ठकेदार हुँदैन। देश सवैको साझा हो।’ कोही तराइ, कोही पहाड, कोही पूर्व र पश्चिमको ठेकेदार नहुने उनले बताए।
सुनकोशी मरिन डाइभर्सन डिटेल प्रोजेक्टविना शिलान्यास गरिएको विषयमा जवाफ दिँदै उनले त्यही कारणले काम अघि बढेको बताए। उनको जवाफ थियो, ‘तराइको १८५ हजार सुख्खा जमिन सिँचाइ हून्छ। साथीहरुको किन चित्त दुखेको छ?’
उनले देशमा तनाव बढाउने र वैमनश्यतातर्फ देशलाई लैजाने अवस्था नभएको बताए।
आफूले भनेको माखेसाङ्लोलाई तराइको आन्दोलनसँग जोडेकोमा पनि उनको चित्त दुखाइ थियो। उनले स्पष्ट पारे, ‘माखेसाङ्लो भनेको जटिल यन्त्र भनिएको हो। राजनीति जटिल भयो भनेको थिएँ। बहुत हल्ला चलाइयो। माखा भन्यो, मखिया भने। भाषाको समस्या हो भने सुल्झाउँ।’
यसैगरी ‘केही केही आँप झरेर आँपको रुख खाली हुँदैन’ भनेको प्रसंगको पनि गलत अर्थ लगाएकोमा चित्त दुखाएका थिए। उनले तराइमा यस्तै भड्काउको राजनीति गरेर शान्तिपूर्ण अवस्थामा पनि सभा सम्मेलन गर्न नपाइने अवस्था सिर्जना भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।