काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभामा विश्वासको मत माग्ने नैतिक अधिकार नभएको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफैंले विघटन गरेको प्रतिनिधि सभामा उभिएर विश्वासको मत माग्ने नैतिक अधिकारी ओलीसँग नभएको बताए।
‘आफैंले विघटन गरेको संसद, यिनै माननीय सदस्यसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीज्यू?’ प्रचण्डले प्रश्न गरे। प्रधानमन्त्रीले विश्वासको मत माग्नुमा पनि कुनै षड्यन्त्र छ कि भन्ने आफूलाई शंका लागेको प्रचण्डको भनाइ छ।
फेरि पनि प्रतिनिधि सभा विघटन गर्ने मनसायका साथ आवश्यक प्रक्रिया पूरा गर्नका लागि प्रधानमन्त्रीले विश्वासको मत मागेको हो कि भन्ने आशंकासमेत गरे।
उनले सर्मथन फिर्ता लिने बित्तिकै फेरि विघटन गर्छन् कि भनेर नलिएको बताए। ‘बजेट अधिवेशन बोलाउने समयमा जुन अधिवेशन बोलाउनु भयो यो पनि स्वभाविक लागेन। बर्खे अधिवेशन बोलाउने समयमा तपाईंले किन बोलाउनु भयो, बजेट र नीति तथा कार्यक्रम छल्न त हैन भन्ने प्रश्न उठेको छ’, उनले भने।
संविधानको व्यवस्था अनुसार संसद्को नियमित अधिवेशन बोलाउनुपर्ने बेला सरकारले विशेष अधिवेशन बोलाउने अधिकार कहाँबाट आयो भन्दै प्रचण्डले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।