काठमाडौं– नेकपा एमालेको नेपाल–खनाल पक्षले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना मागको सुनुवाइ गर्ने सम्बन्धमा सोमबार (वैशाख २७ गते) बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ।
आइतबार अपराह्न बसेको बैठकले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई माग सम्बोधनका सन्दर्भमा सोमबार बिहान ९ बजेसम्मको समयसीमा दिने निर्णय गरेको नेपाल–खनाल पक्षका नेता योगेश भट्टराईले जानकारी दिए।
आफूहरुले उठाएका विषयमा भोलि (सोमबार) बिहान ९ बजेसम्म प्रतिबद्धता नआए आवश्यक निर्णय लिइने पनि भट्टराईले जानकारी दिए।
उनका अनुसार बैठकले दुई विषय तय गरेको छ। पहिलो, पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने। दोस्रो, आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने कुरामा प्रतिबद्धता जनाउनुपर्ने।
'उहाँले त्यो प्रतिबद्धता जनाउनुभयो भने प्रतिनिधि सभामा हाम्रो उपस्थिति हुन्छ। र हामी विश्वासको प्रस्तावको पक्षमा मतदान गर्छौं। त्यो स्थिति भएन र एउटा समूहलाई पेल्ने, धकेल्ने, कारबाही गर्ने, हतोत्साही गर्ने, डर धाक धम्की दिने, सत्ताको दुरुपयोग गर्ने जस्ता क्रियाकलापहरु निरन्तर भए भने हामीले भोलि वैशाख २७ गते हामीले जे निर्णय गर्नुपर्ने हो। त्यो निर्णय गर्छौं’, भट्टराईले भने।
आफूहरुले सम्पूर्ण सांसद्हरुलाई सोमबार बिहान साढे ९ बजे संसद् सचिवालयमा निमन्त्रणा गरिएको पनि नेता भट्टराईले जानकारी दिए। ‘९ बजेसम्म अध्यक्षको प्रतिबद्धताको प्रतीक्षा गर्छौं। त्यसपछि हामीले गर्नुपर्ने कठोर निर्णय गर्छौं’, उनले भने।
सर्वोच्च अदालतले फागुन २३ गते नेकपा विभाजन गरिदिएपछि सोही आदेश अनुसार पार्टीको जीवन एकता पूर्वको अवस्थामा पुगेको माधव नेपाल पक्षको दाबी छ। तर, ओलीले फागुन २८ गते आफू अनुकूल निर्णयहरु गरेकाले नेपाल पक्षको मागलाई अस्वीकार गरेका छन्।
आजै नेपाल पक्षका सांसद्हरुले सामूहिक राजीनामा दिने चर्चा थियो। तर, उनीहरुले त्यसलाई सोमबार बिहान ९ बजेसम्मका लागि थाति राखेका छन्।
सोमबार दिउँसो १ बजे प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक आह्वान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।