काठमाडौं– गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका पृथ्वी सुब्बा गुरुङले आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता लिएर माओवादी केन्द्रले बञ्चरो प्रहार गरेको आरोप लगाएका छन्।
‘एउटै चुनावी मोर्चाबाट लड्ने, एउटै घोषणपत्रबाट प्रतिज्ञा गर्ने, सरकारमा बस्ने अनि अहिले आएर बञ्चरो प्रहार गर्ने प्रवृति लोकतन्त्र, संघीयता र गणतन्त्रका लागि हानी पुर्याउने प्रवृति हो,’ आइतबार पदबाट राजीनामा दिएपछि एक वक्तव्य जारी गर्दै गुरुङले भनेका छन्।
मुख्यमन्त्री गुरुङले बञ्चरो बनेर दिएका चोटको जीवनभर याद रहने पनि चेतावनी दिएका छन्। ‘बञ्चरोले बिर्सन त सक्ला, सयौं चोट पाएको रुखलाई जीवनभर आफ्नो चोटको याद हुनेछ,’ मुख्यमन्त्री गुरुङले भनेका छन्।
मुख्यमन्त्री गुरुङले आफ्नो पार्टी (नेकपा एमाले) फल दिइरहने बृक्ष भएको पनि टिप्पणी गरेका छन्। ‘हामी फल दिइरहने बृक्ष हौं, शीतलता पनि दिएका छौं र दिइरहने छौं, तर जनताका बैरीलाई जनताले चिनेका छन् र उनैले दण्डित गर्नेछन्,’ मुख्यमन्त्री गुरुङले आफ्नो वक्तव्यमा भनेका छन्।
देशमा स्थिरता नचाहने, विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलका कारण हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्रमार्फत चुनावमा गएका दलहरुबाट समेत असहयोग र अस्थिरताको वातावरण सिर्जना भएको गुरुङको आरोप छ।
मुख्यमन्त्री गुरुङले ३ वर्षको छोटो अवधिमा नै प्रदेशका नागरिकले अनुभूति गर्नेगरी समृद्ध प्रदेश निर्माणको बलियो आधारशीला निर्माण गरेको पनि दाबी गरेका छन्।
मुख्यमन्त्री गुरुङले आफ्नो कार्यकालमा प्रदेशको नामाकरण र राजधानी निर्धारण सहमतिमै गरी उदाहरणीय राजनीतिक सन्देश दिइएको बताएका छन्। आफ्नो कार्यकालमा ४६ वटा ऐन र १० नियमावली तर्जुमा गरी कार्यान्वयन गरिएको पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।