दिल्ली- भारतस्थित सेरम इन्स्टिच्युटले बेलायत पठाउन लागेकाे ५० लाख डाेज खाेप केन्द्रीय सरकारले निर्यात गर्न राेकेकाे छ।
एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोरोनाविरुद्धको खोप उत्पादन गरिरहेको सेरमले सरकारसँग २३ मार्चमा निर्यातकाे लागि अनुमति मागेकाे थियाे।
भारतीय सञ्चारमाध्यका अनुसार सेरमले बेलायतलाई दिन लागेकाे खाेपकाे डाेजमा काेभिशिल्ड नभइ एस्ट्राजेनेका लेखिएकाे छ।
नियामक मामिला निर्देशक प्रकाशकुमार सिंहले देशमा काेराेना महामारी बढिरहेकाे अवस्थामा स्वदेशमै प्रयाेग गर्नुपर्ने मागसहित खाेप निर्यात राेक्न केन्द्र सरकारलाई चिठ्ठी पठाएका थिए।
उनकाे आग्रहसँगै सरकारले निर्यात गर्न लागेकाे खोप राेकेकाे हाे। अब यी खाेप २१ राज्यलाई हस्तान्तरण गरिने भएकाे छ। यी खाेप १८ देखि ४५ वर्ष उमेर समूहकालाई दिइने जनाइएकाे छ।
समाचारमा जनाइएअनुसार केही राज्यलाई साढे तीन लाख खाेपकाे डाेज दिइनेछ भने दुई राज्यलाई ५०/५० हजारकाे दरले डाेज दिइनेछ। बाँकी राज्यलाई १/१ लाख डाेज दिइने जनाइएकाे छ।
गत जनवरीमा देशव्यापी खोप अभियान सञ्चालन गरिएको भारतमा हालसम्म करिब १६ करोड ४० लाख व्यक्तिलाई खोप दिइसकिएको छ। १८ वर्षभन्दा माथिका व्यक्तिका लागि गत मे १ तारिखबाट खोप अभियान शुरु भइसकेको छ।
कोरोना महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ संक्रमित फेला परेका छन्। भारतमा योसहित कूल संक्रमितको संख्या दुई करोड १५ लाख पुगेको छ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप तीन हजार ९१५ जनाको मृत्यु भएको छ। योसहित भारतमा मृतककाे संख्या कूल दुई लाख ३४ हजार पुगेको छ।
भारतमा अझै पनि ३६ लाख ४५ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन्। पछिल्लो २४ घण्टामा सक्रिय संक्रमित झण्डै ७९ हजार व्यक्ति थपिएका थिए। मन्त्रालयका अनुसार हालसम्म एक करोड ७६ लाख १२ हजार संक्रमणमुक्त भएका छन्।
कोराेनाको कारण जनजीवन अस्तव्यस्त भएपनि भारत सरकारले देशव्यापी पूर्ण लकडाउन नगर्ने बताएको छ। कतिपय राज्यहरुमा रात्रिकालीन निषेधाज्ञा वा आंशिक लकडाउन गरिएको छ। राजधानी नयाँ दिल्लीमा आगामी मे १० सम्मका लागि लकडाउन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।