काठमाडौं- भारतीय आपराधिक समूहका नाइके छोटा राजनको कोरोना संक्रमणबाट मृत्यु भएको दाबी भारतीय सञ्चारमाध्यमहरुले गरेका छन्।
उनको शुक्रबार एम्स अस्पतालमा निधन भएकाे नवभारत टाइम्सले जनाएकाे छ।
सन् २०१५ मा इन्डोनेसियामा पक्राउ परेका उनलाई तिहाड जेलमा राखिएको थियो। तर, २६ अप्रिलमा तिहार जेल अधिकारीहरूले सेसन कोर्टलाई राजन काेराेना संक्रमित भएकाे जानकारी दिएका थिए। त्यसलगत्तै उनकाे सुनुवाई राेकिएकाे थियाे।
साेही दिन उनलाई एम्समा भर्ना गरिएको थियो। यद्यपि, टाइम्स अफ इन्डियासँग भने अस्पतालका अधिकारीहरुले राजनकाे मृत्यु भएकाे खबरलाई अस्वीकार गरेका छन्।
यता, एम्स अस्पतालका जनसम्पर्क अधिकारी बीएन आचार्यले पनि बीबीसी हिन्दीसँग राजनको मृत्यु नभएको बताएका छन्। 'छोटा राजनको एम्समा उपचार भइरहेको छ। उनको मृत्यु भएको छैन,' उनले भनेका छन्।
मुम्बईमा हत्या र असुलीसँग सम्बन्धित करिव ७० वटा मुद्दामा संलग्नता रहेको अभियोग उनीमाथि रहेकाे छ।
२०१८ मा राजनलाई २०११ मा पत्रकार ज्योतिर्मय डेको हत्या केसमा दोषी ठहराईयो। उनलाई साेही हत्याकाण्डमा आजीवन कारावासको सजाय सुनाइएको थियो।
गत हप्ता मुम्बईको विशेष सीबीआई अदालतले १९९३ को मुम्बई सीरियल बम ब्लास्ट मुद्धका एक आरोपी हनिफ कडावालाको हत्याको आरोपमा राजन र उनको सहयोगीलाई निर्दोष ठहर गरेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।