काठमाडौं- नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले एमालेभित्रको समस्या लगभग मिलिसकेको दाबी गरेका छन्।
शुक्रबार बिहान एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर फर्केका दुगडले पार्टीभित्रको समस्या लगभग मिलिसकेको दाबी गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच ‘भित्रभित्रै’ कुरा मिलिसकेको दाबी पनि गरे। दुगडले नेता नेपाललाई उनकै निवास कोटेश्वरमा भेटेका हुन्।
‘भित्रभित्र कुरा मिलिसकेको छ। एकआपसमा कसरी जाने भन्ने कुरा मिलिसकेको छ। आज या भोलिमा यो सबै सिद्धिन्छ। प्रायः प्रायः कुरा मिलिसकेको छ’, उनले नेपाल लाइभसँग भने।
दुगडले ओली र नेपालबीच आज या भोलिभित्र भेटवार्ता हुने पनि बताए। यसैका लागि आफूले वातावरण बनाइरहेको उनको भनाइ छ।
आफूसँगको भेटमा नेपालले पार्टीभित्रका समस्या समाधान गरेर अघि बढ्नुपर्ने बताएको दुगडले उल्लेख गरे। ‘अहिलेकै अवस्थामा सहमति हुँदैन। सहमतिका लागि पहिले आपसमा मिलेर जाऔं। हाम्राबीचको मतभेद र तिक्तता हटाऔं भन्ने उहाँको कुरा छ’, दुगडले भने।
पार्टीको एकता बचाउनका लागि पनि ओली र नेपाल मिल्नुको विकल्प नरहेको उनले बताए। ‘पूराना कुरा बिर्सेर, पूर्वाग्रह नराखेर अघि बढ्नुस् भनेका छौं। पार्टीका लागि यो अत्यावश्यक छ। यो पार्टी टुट्न दिनु हुँदैन भनेका छौं’, दुगडले भने, ‘उहाँहरूका बीचमा खासै समस्या पनि छैन। कम्युनिकेशन ग्याप मात्र हो। अब भेटघाट भयो भने समस्या रहँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।