काठमाडौं– नेकपा एमालेको माधव नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट मिलेर जाऔं भन्ने प्रस्ताव आएको बताएका छन्।
बिहीबार साँझ काठमाडौंको नागपोखरी–नक्सालस्थित मेरियट होटलमा अर्थमन्त्री एवम् पार्टीका नेता विष्णु पौडेलले मिलेर जाऔं भन्ने प्रस्ताव गरेको पाण्डेले नेपाल लाइभलाई बताए।
‘ठोस कुरा केही पनि छैन, मिलेर जाऔं भन्ने खालको कुरा आएको छ,’ पौडेलसँग भएको कुराकानीबारे जानकारी दिँदै पाण्डेले भने, ‘फेरि पनि कुराकानी गरौं, छलफल गरेरै अगाडि बढौं भन्ने कुरा उहाँ (पौडेल)ले राख्नुभयो।’
पौडेलबाट फेरि पनि नियमित कुराकानीको प्रस्ताव आएको पाण्डेले सुनाए। ‘भोलि–पर्सीतिर पनि भेटौं भन्नुभएको छ,’ नेता पाण्डेले भने।
कुनै ठोस प्रस्ताव आएको खण्डमा कुराकानी र भेटवार्ता गर्न कुनै अप्ठेरो नहुने नेता पाण्डेको भनाइ छ।
नेता पौडेलले बिहीबार साँझ माधव कुमार नेपाल पक्षका नेता सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग काठमाडौंको नागपोखरी–नक्सालस्थित होटल मेरियटमा भेटवार्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।