काठमाडौं- नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन्।
नेपाल बेलुकी पौने ६ बजे बूढानीलकण्ठ पुगेका हुन्। स्रोतका अनुसार बेलुकी पौने ६ बजेदेखि दुई नेताहरूबीच देउवा निवासमा भेटवार्ता जारी छ। नेपालसँगै एमाले नेता भीम रावल पनि छलफलमा सहभागी छन्।
बुधबार मात्र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई उनकै निवास पुगेर भेटेका थिए। उनले आफूलाई विश्वासको मत दिन कांग्रेसलाई आग्रह गरेपनि कांग्रेस नेताहरूले विश्वासको मत नदिने प्रष्ट पारेका थिए।
बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले नेता नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच यादवनिवास हात्तीवनमा छलफल भएको थियो।
उनीहरूले नयाँ सरकार बनाउन सकिने निष्कर्ष निकालेका थिए। यादवले आफ्ना तर्फबाट २५ जना सांसद प्रधानमन्त्री ओलीको विपक्षमा रहेका बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।