काठमाडौं- आसन्न राष्ट्रिय सभाको उपनिर्वाचनमा विपक्षी गठबन्धनका साझा उम्मेदवार खिमलाल देवकोटाले एमाले उम्मेदवारलाई पराजित गर्ने अंक गणितले देखाएको छ। देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादीका साझा उम्मेद्वारको रूपमा अघि सारिएको छ।
तत्कालीन माओवादी केन्द्रको तर्फबाट (बागमती प्रदेशबाट) निर्वाचित रामबहादुर थापा 'बादल' एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा उनी निर्वाचित क्षेत्र रिक्त छ। साेही क्षेत्रमा आउँदो ६ जेठमा उपनिर्वाचन तय भएको छ।
एमालेका तर्फबाट प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि बादललाई नै उम्मेदवार बनाउने पार्टी बैठकमा घोषणा गरेका थिए। तर, बिहीबार बसेको एमाले स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले उम्मेदवारको बारेमा आफूहरुले छिट्टै निर्णय गर्ने बताए। जसकारण एमालेको उम्मेदवार बादल नै हुने वा अर्को व्यक्ति भन्ने स्पष्ट हुन बाँकी रहेको देखिन्छ।
बागमती प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि एमाले, कांग्रेस, माओवादी केन्द्र, नेमकिपा र राप्रपा दर्ता भएका छन्।
राष्ट्रिय सभा निर्वाचनका मतदाता पहिल्यै कुनै निश्चित पार्टीबाट निर्वाचित भइसकेका हुनाले उनीहरुले दिने मत पनि सोही अनुसार हुने आकलन गरिन्छ। जसले देवकोटा निर्वाचित हुने सम्भावना बढी देखिन्छ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सदस्य, नगरपालिकाका प्रमुख- उपप्रमुख र गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष मतदाता हुन्छन्। बागमती प्रदेश सभामा ११० सदस्य छन्। त्यस्तै, यो प्रदेशका १३ जिल्लामा ११९ स्थानीय तह छन्।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ हुन्छ। तसर्थ ११० जना प्रदेश सभा सदस्यको मतभार ५२८० हुन्छ। त्यस्तै, ११९ स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष गरी कुल २३८ मतदाता हुन्छन्। उनीहरु प्रत्येकको मतभार १८ हुन्छ। त्यसैले २३८ जनाको मतभार ४२८४ हुन्छ। यसरी राष्ट्रिय सभाको निर्वाचनमा बागमती प्रदेशको कुल मतभार ९५६४ हुन आउँछ।
बागमती प्रदेशमा सत्तारुढ एमाले दुई कित्तामा विभाजित छ। त्यहाँ एमालेका कुल सांसद् ५७ जना भए पनि माधवकुमार नेपालको पक्षमा २२ जना छन्। प्रदेश सभामा माओवादी केन्द्रको २३, कांग्रेसको २२ र जसपाको एक सांसद् छन्।
त्यसैले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी र माधव नेपाल पक्षको कुल सांसद् ६८ जना हुन पुग्छन्। ६८ सांसद्को मतभार ३२६४ हुन्छ। ३ जना सांसद् रहेको विवेकशील साझाका सांसद्हरुले पनि यही गठबन्धनका उम्मेदवारको पक्षमा मत दिएमा प्रदेश सभाबाट यो पक्षको मतभार ३४०८ हुनपुग्छ।
जबकि, ओली पक्षका एमालेका सांसद् जम्मा ३५ जना छन्। अर्थात् मतभार १६८० छ। नेपकिपा र राप्रपाका ४ सांसद् सो पक्षमा थपिएमा मतभार १८७२ पुग्छ।
प्रदेश सभामा दुवै पक्षको मत आकलन गर्न सकिए पनि स्थानीय तहमा छुट्याउन भने कठिन छ।
बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्षमा एमालेका मात्रै १३३ जना जना छन्। तीमध्ये कति ओलीको पक्षमा छन् र कति नेपालको पक्षमा छन् भन्ने स्पष्ट छैन।
नेपाल पक्षकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले स्थानीय तहका प्रमुख/उपप्रमुख को कता भनी टुंगो नलागिसकेको बताइन्। उनले भनिन्, ‘ओलीले जनप्रतिनिधिलाई धम्क्याइरहेका छन्। को कतापट्टि छन्, छुट्टिसकेको छैन। ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई धम्क्याए पनि राष्ट्रिय सभाको उपनिर्वाचनमा हाम्रो उम्मेदवारले जित्नुहुन्छ।’
बागमती प्रदेशका स्थानीय तहमा आफ्नो पक्ष कमजोर नरहेको उनको दाबी छ।
बागमतीका स्थानीय तहमा कांग्रेसबाट प्रमुख र उपप्रमुखमा ६८ जनाले जितेका थिए। माओवादीबाट प्रमुख र उपप्रमुख गरी ३३ जना जितेका छन्। जसपाका एक जना छन्। कांग्रेस, माओवादी र जसपाको मत एकै जनाको पक्षमा खस्ने भएकाले उनीहरुको संख्या १०२ हुन्छ। उनीहरुको मात्रै मतभार १८३६ हुन आउँछ।
यसरी, प्रदेश सभाबाट कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपा मात्रै मतभार ३२६४ र स्थानीय तहबाट १८३६ हुने देखिन्छ। उनीहरुको पक्षमा कुल मतभार ५१०० हुन आउँछ।
कुल मतभार ९५६४ रहेको बागमती प्रदेशमा त्यो मत ५३ प्रतिशतभन्दा बढी हो। माधव नेपाल पक्षका स्थानीय तहका प्रमुख-उपप्रमुखले पनि यही गठबन्धनलाई मत दिए भएपछि मतान्तर बढी हुन्छ नै, विवेकशील साझा पनि थपियो भने झन् मतान्तर बढी बढी हुन आउँछ।
सम्बन्धित समाचार :
राष्ट्रिय सभामा जित सुनिश्चित गर्न छलफल गर्ने एमाले निर्णय, उम्मेद्वारबारे छिट्टै निर्णय गरिने
राष्ट्रिय सभा निर्वाचन : विपक्षीका साझा उम्मेदवारमा खिमलाल देवकोटा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।