काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर अकाउन्ट फेरि दुरुपयोग भएको छ। उनको निजी ट्विटर अकाउन्ट @kpsharmaoli बाट बुधबार उनको पदीय मर्यादा विपरीत ट्विट (रिप्लाइ) गरिएको थियो।
नागरिक एपबारे लेखिएको ट्विटमा भएको छलफलमा ‘फेकप्रसाद शर्मा’ नामका ट्विटर प्रयोगकर्ताले लेखेको रिप्लाइमा प्रधानमन्त्रीको निजी अकाउन्टबाट रिप्लाइ गर्दै भनिएको छ- अब प्रतिवाद गर्न कुनै तर्क तथ्य नभएसी यस्तै यिच्च दाँत देखाउने अनि हसायो भन्ने।
रिप्लाइ केही बेरमै ‘डिलिट’ गरिएकाले प्रधानमन्त्रीको निजी अकाउन्ट दुरुपयोग भएको स्पष्ट हुन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निजी अकाउन्ट @kpsharmaoli र प्रधानमन्त्रीको अकाउन्ट @PM_Nepal को दुरुपयोग भएको यो पहिलो घटना भने होइन। यसअघि यस्ता घटना पटकपटक भइसकेका छन्।
सोनिया गान्धीलाई रिट्विट!
२०७६ पुस ४ गते प्रधानमन्त्रीको ट्विटर अकाउन्ट @PM_Nepal बाट एउटा ट्विट रिट्विट भयो। भारतीय कंग्रेसको आधिकारिक ट्विटरमा राखिएको उक्त भिडिओलाई ‘शिभम विज’ नाम गरेको ट्विटर ह्याण्डलले रिट्वीट गरेको थियो। भिडिओमा भारतीय कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले नागरिकता कानुनविरूद्ध बोलेकी थिइन्। 'शिभम विज'को ट्विटलाई नै प्रधानमन्त्रीको ह्याण्डलबाट रिट्वीट गरिएको थियो। पछि त्यसलाई 'अन डु' गरिएको थियो।
सामाजिक सञ्जालमा आलोचना बढेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्टीकरण लेखेका थिए- ‘सम्माननीय प्रधानमन्त्रीज्यूको twitter @PM_Nepal बाट अन्यथा retweet भएको देखिन आएको छ। पासवर्डको दुरूपयोग गरि यस्तो गरिएको हुनसक्ने आशंकामा छानविन भइरहेको छ। तसर्थ: कुनै प्रकारको भ्रम र गलतफहमीमा नपर्न अनुरोध गर्दछु।’
तर, छानबिनको निष्कर्ष भने कहिल्यै सार्वजनिक भएन।
मनमोहन सिंहको फ्यान अकाउन्टमा स्वास्थ्य लाभको कामना
वैशाख २८, २०७७ मा भारतका पूर्वप्रधानमन्त्री तथा कंग्रेस आइका नेता मनमोहन सिंहलाई छातीमा समस्या देखिएपछि अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा भर्ना गरियो। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई स्वास्थ्य लाभको काम गर्न ट्विटरलाई माध्यमको रुपमा प्रयोग गरे। तर, उनले मेन्सन भने सिंहको फ्यानको अकाउन्टलाई गरे। मेन्सन गरिएको अकाउन्टको बायोमै फ्यान अकाउन्ट भनेर लेखिएको थियो।
प्रधानमन्त्रीबाट बधाई!
कात्तिक २५, २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीको निजी ट्विटर अकाउन्टबाट ट्विट भयो। केही क्षणमै डिलिट पनि भयो। ट्विटमा लेखिएको थियो- नयाँ व्यावसायिक यात्रामा अघि बढ्न मातृका पौडेलजीलाई सफलताको अग्रिम शुभकामना। हामी दुवैले कोरोना संक्रमण जितेपछिको पहिलो भेटमा उहाँले खुशी हुने योजना सुनाउनु हुँदा दुवै जना दंग... ।
ट्विटसँगै पत्रकार मातृका पौडेल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फोटो पनि थियो।
फोटोमा पौडेलसँग थापा पनि भएकाले ट्विट थापाले गरेको सजिलै बुझिन्थ्यो। अर्कोतिर सोही व्यहोराको ट्विट केही क्षणपछि नै थापाले पनि गरे।
प्रधानमन्त्रीको ट्विटमा आफूलाई पनि कोरोना संक्रमण भएको र जितेको आशय छ। जबकि उनलाई कोरोना संक्रमण भएकै थिएन।
यस विषयमा सबैजसो सञ्चार माध्यमले समाचार बनाए। प्रायःले प्रधानमन्त्रीको ट्विटर दुरुपयोग भएको शब्द तथा आशयका समाचार प्रकाशित गरे। तर, थापाले भने कुनै जवाफ दिएनन्।
राष्ट्रपति कार्यालयको ट्विटर नै बन्द
कात्तिक १२, २०७७ मा राष्ट्रपति कार्यालयको ट्विटर अकाउन्ट (@ShitalNiwas) बन्द गरियो। सो अकाउन्ट अगष्ट २०१८ मा खोलिएको थियो। तत्कालीन समयको बारेमा जानकारी प्राप्त हुन नसकेता पनि बन्द हुनुभन्दा अघिका केही समय भने राष्ट्रपतिसँग जोडिएका सूचनाहरु पोस्ट गर्ने गरेका कारण सक्रिय देखिएको थियो।
सो एकाउन्टबाट पछिल्ला दिनमा राष्ट्रपति कार्यालयका विज्ञप्ति र राष्ट्रपतिसँग सम्बन्धित फोटो पोस्ट गरिन्थ्यो। अन्य कतिपय सूचना पोस्ट गर्नुका साथै राष्ट्रपतिको ट्विटर एकाउन्ट (@Presidenofnp) का ट्विटहरु रिट्विट गरिन्थ्यो। बन्द हुनुभन्दा दुईदिन अघि मात्रै सो अकाउन्ट भेरिफाइ गरिएको थियो।
तर, विगतमा सो ह्यान्डल कांग्रेस नेता गगन थापाको प्यारोडी अकाउन्टको रुपमा रहेको र पछि नाम परिवर्तन गरी शितल निवास बनेको ट्विटर प्रयोगकर्ताहरूले रहस्य खोलिदिएका थिए। त्यसलाई सहयोग पुग्नेगरी कैयौं स्क्रिनसटहरू पनि सार्वजनिक भएका थिए।
खाता बन्द गर्ने भनेर राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले ट्विटरमार्फत् सार्वजनिक गरेका थिए। उनले लेखेका थिए- 'राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले चलाइएको @ShitalNiwas ह्यान्डलमा प्राविधिक समस्या देखिएकाले उक्त खाता बन्द गरिएको छ । कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।