काठमाडौं- कोरोना भाइरसका नयाँ दुई भेरियन्टका कारण कोरोना संक्रमण दर बढ्दो क्रममा छ। प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार नेपालमा हालसम्ममा करिब २१ लाखले पहिलो डोज खोप पाएका छन्। दोस्रो डोज ३ लाख ७० हजारले लगाइसकेका छन्।
कोरोना नयाँ भेरियन्टबाट कोभिड खोप लगाएकाहरू कति सुरक्षित छन्? आम चासोको विषय बनेको छ। यसका लागि सबैभन्दा पहिले खोप लगाएको अवधि जान्नुपर्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्।
उनका अनुसार खोप लगाएको १४ दिनपछिको समयलाई सुरक्षित मानिएको छ। यो ‘पूर्ण खोप’ अर्थात् दुवै डोज पूरा गरेको अवस्थामा प्रभावकारिता बढी हुन्छ। पहिलो डोजको एन्टिबडी बन्न पनि यस्तै समय लाग्ने उनी बताउँछन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका निर्देशक डा कृष्ण पौडेल पनि समयलाई ख्याल गर्नुपर्ने बताउँछन्। खोप लगाएको एक हप्तामै कोरोना देखिएको भेटिएको उनी बताउँछन्। त्यसलाई खोपको प्रभावकारितासँग जोड्न नहुने उनको भनाइ छ।
उनले भने, ‘केही समयअघि खोप लगाउने क्रममा ठूलो भीड भयो। त्यही क्रममा खोप लगाएका एक हप्तामै कतिलाई पोजिटिभ देखियो। खोप लगाएपछि एन्टिबडी विकास हुन दुई/तीन हप्ता लाग्छ। तर, एक हप्ताभित्रै संक्रमित भेटिनु भनेको खोपसँगको सम्बन्ध मानिदैन।’
नेपालमै पनि दुई डोज खोप लगाएका केही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको उनी बताउँछन्। त्यस विषयमा थप अनुसन्धान हुने क्रममै रहेको उनको भनाइ छ। तर, त्यसलाई ‘पूर्ण खोप’को अवधि १४ दिन नपुग्दै भएको संक्रमणका रुपमा अनुमान गरिएको छ।
खोप लगाएका ८० प्रतिशतलाई कोरोना संक्रमण नहुन सक्ने डा पुन बताउँछन्। जतिलाई हुन्छ, उनीहरू २० प्रतिशतभित्र रहेको मान्न सकिने उनको विश्लेषण छ। ‘प्रभावकारिता’ शब्द यही कारण खोपमा प्रयोग गरिएको उनको भनाइ छ। उनी प्रष्ट्याउँछन्, ‘सबैको रोगप्रतिरोधी क्षमता एउटै प्रकारको हुँदैन। एउटै भ्याक्सिनले कसैको एन्टिबडी एकदम राम्रो बन्छ, कसैको बन्दैन।’
कोरोना भाइरस रोक्न सक्ने क्षमता नै खोपको प्रभावकारिता हो। प्रभाव प्रमाणित भएका कारण यसलाई प्रयोगको अनुमति दिइएको हो। तर, खोप लगाएका पनि केहीलाई कोरोना संक्रमण भएका खबर आइरहने भएकाले यसप्रति अविश्वास गर्ने जमात पनि उत्तिकै भेटिन्छ।
कोरोना वर्तमान भेरियन्ट यसको प्रभावका विषयमा बेलायतमा अध्ययन भएको छ। त्यहाँ खोप दुई मात्रा लगाइसकेपछि गम्भीर हुने र मृत्यु हुने दरमा कमी आएको देखाएको डा पौडेल बताउँछन्।
डा पुन पनि खोप लगाएका धेरैमा संक्रमण भएपनि कडा खालको नहुने बताउँछन्। उनको भनाइ छ, ‘खोप लगाएपछि ८० प्रतिशतलाई कोरोना हुने सम्भावना हुँदैन र भएपनि मृत्यु हुने सम्भावना कम हुन्छ।’
यसलाई डा पौडेल यसरी प्रष्ट्याउँछन्, ‘जन्मिनेबित्तिकै एक महिनाभित्र एउटा खोप लगाइन्छ, क्षयरोगको बीसीजी। यो लगाएपनि क्षयरोग लाग्न सक्छ तर कडा खालको हुँदैन।’
अहिलेको खोपले बेलायत भेरियन्टमा पनि राम्रै प्रभाव देखिएको डा पौडेल बताउँछन्। बिरामी गम्भीर हुने दर र अस्पताल भर्ना हुने दर कम देखाएको उनी बताउँछन्।
कोरोना खोप लगाएकाहरूले एकअर्कालाई भेट्दा जनस्वास्थ्य मापदण्ड पालना नगरे पनि हुने अमेरिकी अध्ययनले देखाएको छ। तर, खोप नलगाएकोलाई भेट्दा जनस्वास्थ्य मापदण्ड पालना गर्न सुझाइएको छ।
डा पुन खोप लगाएकाले पनि कोरोना सार्न सक्छ र संक्रमित हुन सक्छ भन्ने संकेत उक्त भनाइले गरेको बताउँछन्। उनले थपे, ‘उच्च जोखिममा भएकाहरूकहाँ जाँदा मापदण्ड पालना गर्नु भनेको छ। त्यसैले खोप नलगाएको भन्दा लगाएकोमा संक्रमण हुने र सार्ने सम्भावना कम मात्रै हो।’
नेपालमा ठूलो संख्याले खोप लगाउन पाएका छैनन्। त्यसैले खोप लगाएकाले पनि जनस्वास्थ्यका मापदण्डको पालना गर्नु अनिवार्य रहेको चिकित्सकहरू बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।